महिला हिंसा न्युनीकरण गर्न किशोरीहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण

२२ असार २०७५, शुक्रबार ०७:२९

असार २२, काठमाडौं ।

महिला हिंसाका घटना बढ्न थालेपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले किशोरीहरूलाई आत्मरक्षासम्बन्धी प्रशिक्षण अभियान सुरु गरेको छ । राखेपले डडेल्धुराका किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी तीन दिने आधारभूत तालिम दिएको हो ।

तालिममा अमरगढी नगरपालिकाभित्रका विद्यालयमा अध्ययनरत कक्षा ९ र १० का ८० जना छात्रा सहभागि छन् । उनीहरुलाई आत्मरक्षा कसरी गर्ने भनेर मार्शल आर्टको तालिम दिइएको छ ।

डडेल्धुरामा अर्थिक वर्ष ०७४/७५ मा जम्मा ११२ वटा महिला हिंसाका घटना भएका छन् । जसमध्ये ४८ वटा कुटपिट र दुई वटा जबरजस्ती करणीका घटना रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराको तथ्यांक छ । यस्ता घटनालाई निरुत्साहित गर्न, महिलाको आत्मबल बढाउन तथा खेलकुदप्रति महिलाको अभिरुचि बढाउन तालीम आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेन्द्र बहादुर मगरको भनाइ छ ।

‘महिला हिंसा न्युनीकरण गर्न खेलकुद उत्तम विकल्प हुन सक्छ,’ उनले भने, ‘तालिममा सामाजिक तथा शारीरिक घटनाबाट कसरी बच्ने भन्नेबारे विभिन्न ट्रिकहरु सिकाइँदैछ ।’

यस्ता किसिमका कार्यक्रम डडेलधुरासहित ३० जिल्लामा सन्चालित छ ।