मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट, सांसदसँग हारगुहार

४ श्रावण २०७५, शुक्रबार १२:३३

साउन ४, काठमाडौं ।

पाल्पाको रिब्दीकोट गाउँपालिकामा बाँदरले मकै नष्ट गरेपछि यहाँका किसान चिन्तित बन्दै गएका छन् ।

पहाडी जिल्ला पाल्पाको प्रमुख अन्नबाली मकैमा घोगा हाल्न थालेसँगै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान मकै जोगाइदिनका लागि गाउँपालिका प्रमुख र प्रदेश सांसदसँग हारगुहार गर्न पुगेका हुन् ।

गाउँमा युवा पुस्ता नभएकाले अधिकांश महिला, वृद्ध र बालबालिकामा बसोबास गर्ने थलो बन्दै गएसँगै बाँदर धपाउन समस्या भएको छ ।

महिला तथा बालबालिकाले बाँदर धपाउन खोज्दा पटकपटक हैरानी परेको गुनासो बाँदर पीडितले गर्दै आएका छन् ।

रिब्दीकोट गाउँपालिका–३ का ९५ घरपरिवार मकैबारीमा बाँदरको बगाल बस्तीमा पसेपछि मकै नष्ट गरेको स्थानीय बासिन्दा रामबहादुर सुनारले गुनासो गरे ।

रिब्दीकोट गाउँपालिका–३ का बाबुलाल रसालीले बाँदरले मकै र मृगले अन्नबाली नष्ट गरेसँगै किसानको मेहनत विफल भएको गुनासो पोखे । मकै बाली भित्राउने समयसम्म बाँदरबाट मकै जोगाइदिनका लागि सांसद तथा गाउँपालिका प्रमुखसँग बाँदर पीडितले अनुरोध गरे ।

प्रदेश सांसद तुलाराम घर्ती ‘वसन्त’ले बाँदरको समस्या सुने पनि आफूमाझ समस्याका रुपमा पहिलोपटक नयाँ प्रकृतिको समस्या आएको बताए ।

सिंह, बाघले क्षति गरे क्षतिपूर्ति पाउने व्यवस्था भएपनि बाँदरबाट भएको नोक्सानीको राहत पाउने व्यवस्था नभएको बताए ।

उनले बाँदर प्रवेश गर्ने स्थानमा मान्छे राखेर बाँदर धपाउनुपर्ने घर्तीले बताए । बाँदर नियन्त्रणका लागि कार्यविधि बनाएर भरुवा बन्दुक प्रयोग गरी बाँदर धपाउन सकिने सम्भावना रहेको बताए ।