बास्केटबलको छनोट खेलमा अस्ट्रेलिया र फिलिपिन्सका खेलाडीले बर्साए मुक्का, लात र कुर्सी

१९ असार २०७५, मंगलवार ०८:२३

असार १९, काठमाडौं । बीबीसी

बास्केटबल खेलको विश्वकप छनोट प्रतियोगिताअन्तर्गत सोमवार खेलिएको एक खेलमा फिलिपिन्स र अस्ट्रेलियाका खेलाडीहरूले एकअर्कालाई मुक्का, लात र कुर्सी बर्साएका छन् ।

खेलको अन्त्यमा कोर्टमा फिलिपिन्सका जम्मा तीन खेलाडी थिए किनकि नौ खेलाडीलाई निष्काशन गरियो ।

अस्ट्रेलियाका चार खेलाडीलाई पनि खेलबाट निकालियो । अन्तिममा अस्ट्रेलियाले उक्त खेल ८९–५३ ले जित्यो ।

मनिलामा भएको उक्त खेलपछि अन्तर्राष्ट्रिय बास्केटबल महासंघ (फिबा) ले दुवै टीमविरुद्ध अनुशासनात्मक कारवाही शुरू गरेको छ ।

कुल ५५ हजार दर्शक क्षमता भएको फिलिपिन एरिनामा भएको खेलको तेस्रो भागमा झगडा शुरू भएको थियो ।

अस्ट्रेलियाको बास्केटबल संघले घटनाका लागि समर्थकहरूसँग माफी माग्दै जुनसुकै सजायका लागि तयार रहेको जनाएको छ ।