प्राकृतिक विपत्तिहरूबाट पूर्ण रूपमा सुरक्षित शहर बन्दै

९ श्रावण २०७५, बुधबार १४:०७

साउन ९, काठमाडौं । एजेन्सी

फिलिपिन्समा एउटा यस्तो नयाँ शहर बनाइएको छ जुन प्राकृतिक विपत्तिहरूबाट पूर्ण रूपमा सुरक्षित छ । यसलाई “न्यु क्लार्क सिटी” नाम दिइएको छ र यो राजधानी मनिलाबाट सय किलोमिटर पर छ ।

भूकम्पले ध्वस्त पारेपछि पनि सरकारी कार्यालयमा काम भइरहोस् भनेर यो शहर बनाइएको हो । त्यसैले यसलाई “ब्याकअप सिटी” पनि भनिएको छ ।

यो शहर ९५ वर्ग किलोमिटरमा बसाइएको छ र यसमा १२ लाख मानिस बस्न सक्छन् । दश करोडभन्दा बढी जनसंख्या भएको फिलिपिन्स प्रशान्त महासागरमा रिङ अफ फायरमा पर्छ । यो क्षेत्रका देशमा भूकम्प र ज्वालामुखीको खतरा रहिरहन्छ ।

न्यु क्लार्क सिटीलाई चाहिँ चक्रवाती तुफान र बाढीको खतरा नहुने गरी डिजाइन गरिएको छ । सरकारी संस्था बेसेस कन्भर्सेसन एन्ड डेभलपमेन्ट अथोरिटीका अध्यक्ष र क्लार्क सिटी प्लानका प्रमुख भिभिन्सियो डिजोन भन्छन्, ‘हामीहरू वाहनबाट हुने प्रदूषणलाई पनि कम गराउन चाहन्छौं । शहरको धेरै भाग पैदलै हिँड्न सकिने हिसाबमा बनाइँदैछ । कारको प्रयोग कम हुने गरी यातायात व्यवस्था मिलाइँदैछ ।’

शहर बनाउने काम पाँच चरणमा पूरा हुनेछ । पहिलो चरणमा दुई अर्ब डलर खर्च हुन्छ ।

डिजोनले भने, ‘शहरमा ऊर्जाका लागि हरित ऊर्जा र सौर्य ऊर्जा तथा लिक्विफाइड नेचुरल ग्यास प्रयोग हुनेछ । फोहोरबाट पनि ग्यास बनाइन्छ । भवनहरू पनि बिजुली कम खपत हुने गरी डिजाइन गरिएको छ । नदी, पहाड र रुखजस्ता प्राकृतिक कुरालाई छेडछाड गरिने छैन । नयाँ शहर मनिलाभन्दा अग्लो ठाउँमा बसाइनेछ । त्यहाँ बाढीको खतरा पनि हुने छैन ।’

न्यु क्लार्क सिटीको चारैतिर पहाड भएकाले तुफानबाट पनि रक्षा हुनेछ । भवन बनाउनका लागि सिमेन्टका साथै ज्वालामुखीको अवशेष पनि प्रयोग गरिनेछ ।

उक्त वस्तुले ज्वालामुखीको गर्मी पनि सहन सक्छ ।

फिलिपिन्सका तुफान चेतावनी प्रणालीले बताएअनुसार, हरेक वर्ष १९ चक्रवाती तुफान आउँछन् । अनि त्यहाँ भूकम्प पनि आइरहेका हुन्छन् ।