पौदी सेभ सोसाइटीले गर्यो तिन बालबालिकालाई एक लाख नगद सहयोग

४ श्रावण २०७५, शुक्रबार १५:२९

साउन ४, काठमाडौं ।

पौदी सेभ सोसाईटीले अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर १, मरेङ्ग सुन्दरपोखरीका तिन बालबालिकालाई एक लाख नगद सहयोग हस्तान्तरण गरेको छ ।

बाबुले आत्महत्या अनि आमाले पनि छाडेर गए पछि उनीहरु विचल्लीमा परेका थिए । बालबालिकाको विचल्लीको खबर सञ्चार माध्यमबाट थाहा पाए पछि पौदी सेभ सोसाइटी जापानका संयोजक कृष्ण केसीको नेतृत्वमा विदेशी भुमीमा काम गरिरहेका साथै स्वदेशमा रहेका नेपालीले उक्त रकम संकलन गरेका थिए ।

सोसाइटीले बालबालिकाको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ आफुहरुले सहयोग गरेको बताएको छ । त्यस्तै, संकलित रकम हस्तान्तरण गर्दै गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले सामाजिक उत्तरदायित्व वहन गर्ने सहयोगी सम्पुर्णलाई धन्यवाद दिए ।

हस्तान्तरण कार्यक्रममा गुल्मी जिल्लास्थित रेसुङ्गा नगरपालिकाका मेयर, पौदी सेभ सोसाइटीका केन्द्रिय पदाधिकारी र विभिन्न पार्टीका प्रतिनिधिको उपस्थिति रहेको थियो । यस संस्थाले यस भन्दा पहिले तिल बहादुर जिसीलाई पनि आर्थिक सहयोग गरेको थियो ।

पौदी सेभ सोसाइटीको आह्वानमा विदेशी भुमीमा काम गरिरहेका र स्वदेश मै रहेका नेपालीले आर्थिक अवस्था कमजोर भएका दुःखी, गरिव र असक्त नेपालीलाई आफ्नो कमाईबाट केही रकम सहयोग गर्दै आएका छन् ।