पूर्वप्रधानमन्त्री शरिफ ‘ए श्रेणी’का कैदी, छोरी ‘बी श्रेणी’को कैदी

३१ असार २०७५, आईतवार ०८:१८

असार ३१, काठामाडौं । एजेन्सी

भ्रष्टाचारसम्बन्धी एउटा मुद्दामा दोषी ठहर भएका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रावलपिण्डीस्थित अडियाला जेलमा राखिएको छ ।

पूर्वप्रधानमन्त्री भएको नाताले शरिफलाई ‘ए श्रेणी’को कैदीका रुपमा राखिएको छ । ‘ए श्रेणी’ अन्तर्गत उच्च सरकारी अधिकारीहरू बाहेक पूर्वसंघीय मन्त्री र विगतमा बढी कर तिर्ने गरेकाहरूलाई राख्ने गरिएको छ ।

शुक्रवार राति विमानस्थलबाटै पक्राउ गरी पूर्वप्रधानमन्त्री शरिफ र उनकी छोरी मरियम नवाजलाई जेल चलान गरिएको हो । अधिकारीहरूका अनुसार स्वास्थ्य परीक्षण गरिएपछि बुवाछोरीलाई छुट्टा–छुट्टै जेल पठाइएको थियो ।

नाम उल्लेख नगर्ने शर्तमा जेलका एक अधिकारीले अरू कैदीसरह शरिफ र मरियमले पनि कैदीको पोशाक लगाउनुपर्ने हुन्छ । शरिफ र मरियमले चाहेमा कैदीको पोशाक आफैँले पनि बनाउन लगाउनसक्ने जेलका अधिकारीहरूले बताएका छन् ।

शरिफलाई ‘ए श्रेणी’ र मरियमलाई ‘बी श्रेणी’को कैदीका रुपमा राखिएको छ । ‘ए श्रेणी’ अन्तर्गत राखिने कैदीलाई बस्नका लागि दुईवटा कोठा दिइन्छ । त्यसमा ओछ्यान, एसी, फ्रीज र टीभीका साथै भान्सा पनि हुन्छ ।

यस्तै ‘ए श्रेणी’का कैदीले जेलको खानाको सट्टा आफैँले पकाएर पनि खान पाउँछन् । त्यसबाहेक उनीहरूले काम गर्ने दुईजना कैदी पनि पाउँछन् । भ्रष्टाचारसम्बन्धी मुद्दामा दोषी ठहर भइ शरिफले १० वर्ष जेल सजाय पाएका छन् भने मरियमलाई सात वर्षको जेल सजाय सुनाइएको छ ।