पाल्पामा खेतीयोग्य जमीन मासेर कृत्रिम ताल बनाए यी युवाले

२ श्रावण २०७५, बुधबार ०९:३६

साउन २, काठमाडौं ।

रामपुर नगरपालिका–६ पाल्पाका कृष्णप्रसाद भण्डारीले खेतीयोग्य जमीन मासेर कृत्रिम ताल निर्माण गरेका छन् ।

भण्डारीले बुबाको स्मृतिमा रामपुर नगरपालिका–५, तल्लो भम्बक बहखोला किनारमा रहेको तीन बाली लाग्ने छ रोपनी खेत मासेर ताल निर्माण गरेका हुन् ।

स्व बुबा हरिकृष्ण शास्त्रीको नाममा ताल निर्माण गरेको उनले बताए । छ रोपनी खेतमध्ये पाँच रोपनीमा ताल विस्तार भइसकेको छ भने बाँकी भागमा पर्यटक आकर्षित गर्ने उद्देश्यले बाल उद्यान तथा पार्क निर्माण गर्ने तयारी भइरहेको भण्डारीले बताए ।

ताल निर्माणसँगै भण्डारीले पार्कमा पर्यटक भित्र्याउने गरी दीर्घकालीनरुपमा सञ्चालन गर्न एउटा आधुनिक डुंगा र एउटा स्थानीय सामानबाट निर्माण गरिएको डुंगा सञ्चालनमा ल्याएको छ । अनुमानित रु २५ लाखको लागतमा कृत्रिम ताल र पार्क निर्माण कार्य सम्पन्न हुने उनको भनाइ छ ।