नेपाल त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दै

१३ श्रावण २०७५, आईतवार १५:५०

साउन १३, काठमाडौं ।

नेपालले आइतबार नेदरल्याण्ड्स र इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबसँग त्रिकोणात्मक ट्वेण्टी–ट्वेण्टी क्रिकेट खेल्दैछ । क्रिकेटको ‘मक्का’ मानिने लर्ड्स मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टिम मार्लबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड्ससँग भिड्न मैदान उत्रिन लागेको हो ।

नेपाल दोस्रो पटक आज इंग्ल्याण्डको लर्ड्स क्रिकेट मैदानमा उत्रन लागेको हो । २ वर्षअघि यहि मैदानमा (एमसिसी) सँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एमसीसीलाई ४१ रनले हराएको थियो ।

एमसीसीसँगको खेल नेपाली समय अनुसार बेलुका ६ बजेपछि शुरु हुनेछ । त्यस्तै, नेपाल र नेदरल्याण्ड्सले नेपाली समय अनुसार राति साढे १० बजेपछि खेल्नेछन् । त्यसअघि दिउँसो पौने ३ बजे नेदरल्याण्ड्स र एमसीको खेल हुनेछ ।

मैत्रीपूर्ण भएपनि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले मान्यता दिएको यो शृंखलाका लागि नेपाली टोली अघिल्लो हप्ता नै इंग्ल्याण्ड पुगेको हो ।

नेपाली टोलीका कप्तान पारस खड्काले नेपाली टीमका लागि आजको खेल महत्वपुर्ण अवसर भएको प्रतिक्रिया दिएका छन् ।

त्रिकोणात्मक शृँखलापछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले आगामी बुधबार र शुक्रबार नेदरल्याण्ड्ससँग एतिहासिक एकदिवसीय शृंखला खेल्नेछ । एकदिवसीय मान्यता पाएपछि पहिलो पटक नेपालले शृंखला खेल्न लागेको हो ।