‘द-ब्याङ’ टुरमा कट्रिना परिन् जिल्ल

२९ असार २०७५, शुक्रबार १०:३३

असार २९, काठमाडौं ।

सेलिब्रिटीहरुले फ्यानहरुबाट मानसम्मान त खुबै पाउँछन् नै, कहिलेकाहीँ अपमान र तिरस्कार पनि झेल्नुपर्छ । किनकी कतिपय फ्यानहरु साह्रै अविवेकी र छुद्र हुन्छन् ।

बलिउड नायिका कट्रिना कैफले यस्तै अवस्थाको सामना गर्नुपर्‍यो क्यानाडाको भान्कोउभरमा । हालै उनी त्यहाँ ‘द-ब्याङ’ टुरको सिलसिलामा नायक सलमान खानको टोलीमा त्यहाँ पुगेकी थिइन् ।

अन्तिम शोका लागि जब उनी आफू बसेको होटलबाट निस्किइन्, होटलको बाहिर थुप्रै फ्यानहरु जम्मा भएका थिए । कट्रिनाले उनीहरु आफूसँग सेल्फी खिच्न प्रतिक्षारत रहेको ठानेर भनिन्, ‘प्लिज, म अहिले हतारमा छु । पछि गरौंला ।’

त्यसपछि ती फ्यानहरु कराउन थाले, ‘हामी तिमिसित फोटो खिच्न आएका होइनौं । तिमी गए हुन्छ ।’

केही युवतीहरुले भने, ‘हामी सलमान खानको लागि आएका हौं, तिम्रो काम छैन ।’

विचरा कट्रिना जिल्ल परिन् । तर, त्यहाँ दुई-तीन जनाले उनीप्रति सहानुभूति देखाए । प्लिज म्याडम भन्दै उनीहरुले कट्रिनासँग सेल्फी खिच्न चाहे । कट्रिनाले पनि खुशी भएर उनीहरुसँग पोज दिइन् । एक फ्यानले भने, ‘तपाईं ठूलो मनकी हुनुहुन्छ । ती अभद्र फ्यानहरुको कुराले चित्त नदुखाउनुहोला ।’

उनीहरुको कुराले कट्रिनालाई कति सान्त्वना मिल्यो भन्ने त थाहा भएन तर, उनको अनुहारको चमक भने उडेको थियो ।