दार्चुलामा बाढी पहिरो, पुरिए आधा दर्जन घर

२७ असार २०७५, बुधबार १०:४२

असार २७, काठमाडौं ।

दार्चुलामा बाढी पहिरोका कारण आधा दर्जन घर पुरिएका छन् ।

मंगलबार रातिको वर्षाका कारण दार्चुलामा विभिन्न नदी खोलाहरुमा पानीको बहाब बढेर विभिन्न स्थानमा पहिरो तथा बाढीले क्षती पुर्‍याएको हो ।

नौगाड गाउँपालिकामा बढी क्षति गरेको छ । नौगाड खोलामा पानीको बहाब बढेपछि नदीले जमिन कटान गरिरहेको छ भने आधा दर्जन घरहरुहरुमा क्षति पुर्‍याएको छ । ती खोलहरुमा लगाइएको काठेपुलहरु बगाइदिएको छ ।

नौगाड गाउँपालिका-४ कपडेका लालमनी ठगुन्नाका २ वटा घरमा पहिरोले क्षति पुर्‍याएको छ । नौगाड खोलामा आएको बाढीले होपरीगाडमा रहेको मनवीर ठगुन्नाको एउटा पसल बगाएको छ ।

नौगाड गाउँपालिका-१ मा खडकसिंह ठगुन्नाको घर पहिरोले पुरिँदा पशुचौपाय, अन्नबाली, अन्य सम्पत्ति पहिरोले पुरिएको मिडिया विकास समाज नेपाल दार्चुलाका सदस्य आनसिंह बडालले बताएका छन् । उक्त क्षेत्रमा बस्ती नै जोखिममा रहेको छ ।

यस्तै नौगाड गाउँपालिका-१ मा रहेको गोधानी खोला लघु जलविद्युत् आयोजनाको विद्युत् गृहमा क्षती भएको छ ।

गरीबी निवारण कोषको ६० लाख बढी लगानीमा निर्माण गरिएको गोधानी खोला लघु जलविद्युत् आयोजना र त्यहाँको बस्तीहरुमा क्षती पुगेको छ ।

यस्तै गोधानी खोला, सेइल खोला, दह खोलामा राखिएका काठेपुलहरु पनि बगाउँदा आवत्जावत् समेत बन्द भएको छ ।

यस्तै विद्यालयहरुमा क्षती भएको शिक्षक जनकराज भट्टले जानकारी दिए । सौकेबगरमा रहेको विद्यालय, महादेब आधारभूत विद्यालय इयरकोटमा क्षती भएको छ ।

यसै वर्ष निर्माण गरिएका माछा पोखरी बगाएको छ । थुप्रै किसानहरुको खेत नै बगाएको छ । सबै क्षेतिको विवरण आइ नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

नौगाडका बाढी तथा पहिरोले क्षती पुर्‍याएका ती बस्तीहरुमा सञ्चार सेवा नै अबरुद्ध भएको छ ।