तीन किलो सुनसहित पाँच जना पक्राउ

९ श्रावण २०७५, बुधबार १६:३६

साउन ९, काठमाडौं ।

तीन हजार ३६ ग्राम सुनसहित पाँच भारतीय नागरिकलाई पक्राउ परेका छन् ।

महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले थाई एयरबाट थाइल्याण्डको बैँककबाट काठमाडौँ आएका ईश्वर दास, अवतार सिंह, अमृतपाल सिंह, हरमिन्दर सिंह र रिजवान आवुल अन्सारीले भन्सार छलेर सुन ल्याएपछि उनीहरुलाई पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुटकेशमा लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिए ।

जसमध्ये ईश्वर दासबाट ५७८ ग्राम, अवतार सिंहबाट ५७७, अमृतपाल सिंहबाट ९५५, हरमिन्दर सिंहबाट ५७८ र रिजवान आवुल अन्सारीबाट ३४८ ग्राम सुन बरामद गरेको छ ।

प्रहरीका अनुसार उक्त सुनको अहिलेको मूल्य एक करोड ४७ लाख ८५ हजार ३२० रहेको छ ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।