तान्त्रिकको सल्लाहमा राहुल गान्धीले मोदीलाई अँगालो हालेको दाबी

९ श्रावण २०७५, बुधबार १४:३२

साउन ९, काठमाडौं । एजेन्सी

भारतको लोकसभामा प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावसम्बन्धी बहस चलिरहेका बेलामा कांग्रेस अध्यक्ष राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई अँगालो हालेका हुन् ।

यही विषयमा सत्तारूढ भारतीय जनता पार्टी र कांग्रेसबीच विवाद जारी छ । कांग्रेसले यसलाई घृणामाथि प्रेमको जीत बताइरहेको छ भने भाजपाले यसलाई देखावटी प्रेम भनेको छ ।

यसैबीच दिल्लीको भाजपा प्रवक्ता तेजिन्दर पाल सिंह बग्गाले राहुलले तान्त्रिकको सल्लाहमा प्रधानमन्त्री मोदीलाई अँगालेको दाबी गरेका छन् ।

बग्गाले दाबी गरेअनुसार, उनलाई एक कांग्रेसी मित्रले यसको जानकारी दिएका थिए । तान्त्रिकले राहुललाई भाषणका बेलामा प्रधानमन्त्री बसेको कुर्सी छोएमा उनको प्रधानमन्त्री बन्ने योग खुल्ने बताएको बग्गाले भने ।

राहुलले कुर्सी छोएर मात्र हिँडेको भए उनको खिसिटिउरी हुन्थ्यो त्यसैले उनले प्रधानमन्त्री मोदीलाई अँगाल्ने बहानामा उनको कुर्सी पनि छोएका हुन्, बग्गाले भने ।

कांग्रेसका नेताहरूले चाहिँ राहुल भाषणका बेलामा भावुक भएकाले प्रधानमन्त्रीलाई अँगालो हालेको र पार्टी विधायक पनि छक्क परेको बताए ।