टुंगियो टर्कीमा संकटकाल

४ श्रावण २०७५, शुक्रबार १६:१३

साउन ४, काठमाडौं । एजेन्सी

टर्कीमा दुई वर्षअघि लगाइएको संकटकाल बुधवार टुंग्याइएको छ । तर विपक्षी दलहरूले यसका ठाउँमा अझ दमनकारी कानून वैध तरिकाले लागू गर्न सरकार उद्यत रहेको आरोप लगाएका छन् ।

सन् २०१६ मा कूको असफल कोशिश, अंकारामा बमवर्षा र इस्तानबुलमा भएको हिंस्रक झडपमा २४९ मानिसको मृत्यु भएपछि संकटकाल लगाइएको थियो ।

सरकारी समाचार एजेन्सी अनादोलुका अनुसार, संकटकाल सामान्यतया तीन महिनाका लागि लगाइन्छ तर त्यसको अवधि सातचोटि बढाएर दुई वर्ष पु–याइएको थियो । बुधवार मध्यरातबाट यसलाई हटाइएको छ ।

संकटकालमा लगभग ८० हजार मानिसलाई हिरासतमा राखिएको छ । योभन्दा दुईगुणा बढी मानिसलाई जागिरबाट निकालिएको छ । उनीहरू सरकारी कार्यालयमा काम गर्थे ।

यस क्रममा फेतुल्ला गुलेन नामक अमेरिकामा बस्ने धर्मप्रचारकलाई तारो बनाइएको थियो अनि कुर्द कार्यकर्ता र वामपन्थीहरूलाई पनि निशाना बनाइएको थियो ।

अघिल्लो महिना राष्ट्रपति चुनाव प्रचार अभियानका बेलामा रेसेप तय्यप एर्दोगानले सत्तामा फर्किनेबित्तिकै संकटकाल अन्त्य गर्ने घोषणा गरेका थिए ।

विपक्षका नेता संसदमा प्रस्तावित गरिएको नयाँ कानूनप्रति आक्रोश व्यक्त गरेका छन् । कानूनमा संकटकालका केही कडा पक्षलाई औपचारिक गरिँदैछ ।

प्रमुख विपक्षी दल रिपब्लिकन पिपुल्स पार्टीले नयाँ कानून पनि संकटकाल जस्तै भएको प्रतिक्रिया दिएको छ ।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले संकटकालका बेलामा बन्दी बनाइएका एक अमेरिकी पादरीलाई रिहा नगरिएकोमा रोष प्रकट गरेका छन् र एर्दोगानलाई उनलाई मुक्त गर्ने अपील गरेका छन् ।

एन्ड्रु ब्रोन्सन इज्मीर शहरमा एक प्रोटेस्टेन्ट चर्च चलाउँछन् र उनलाई आतंकवादको आरोपमा पहिलोपटक सन् २०१६ मा हिरासतमा लिइएको थियो ।

त्यतिखेरदेखि उनको रिहाइ तीनचोटि टरिसकेको छ । यो मुद्दा नै अमेरिका र टर्कीको
सम्बन्धमा आएको तिक्तताको प्रमुख कारण बनेको छ ।