जेलको सफ्टवेयर ह्याक गरेर कैदीहरूले चोरे साढे दुई करोड रुपैयाँ

१३ श्रावण २०७५, आईतवार १५:५७

साउन १३, काठमाडौं । एजेन्सी

अमेरिकाको इडाहो राज्यमा रहेको एक कारागारमा ३५६ कैदीहरूले जेलको सफ्टवेयर ह्याक गरेर दुई लाख २५ हजार डलर अर्थात् साढे दुई करोड रुपैयाँ चोरेका छन् । उनीहरूले पैसा आफ्नो खातामा सारेका छन् ।

तीमध्ये ५० कैदीहरूले एक हजार डलर पाए भने बाँकीले नौ हजार ९०० डलर पाए । कैदीले यो घटना कसरी गराए भन्ने खुलेको छैन । तर कैदीहरूबाट ६५ हजार डलर असुरउपर गरिएको बताइएको छ ।

इडाहो कारागार विभागका प्रवक्ता जेफ रेले बताए, ‘जेपे नामक एक निजी फर्मले कैदीहरूलाई मोबाइल फोन जस्तो डिभाइस दियो ।

त्यसैको सहायताले कैदीहरू मनी ट्रान्सफर, संगीत र गेम डाउनलोड गर्नुबाहेक आफन्तसँग कुराकानी पनि गर्न सक्थे । अनि कारागार प्रशासनले उनीहरूको पारिश्रमिक पनि त्यसैमार्फत दिन्थ्यो । कैदीहरूले बठ्याइँ गरेर जेपे सिस्टममा गडबडी गरे जसकारण जेलका तर्फबाट दिइने रकम ह्वात्तै बढ्यो । लगभग साढे दुई करोड चोरिएको पाइयो ।’

जुलाई महिनाको शुरूआतमा कैदीहरूलाई जेपे सिस्टमको बारेमा सम्झाइएको थियो ।

जेपेका प्रवक्ता जेड ट्रोम्बेटाका अनुसार, ‘हाम्रो कम्पनी कैदीहरूलाई साथी र परिवारजनसँग कुरा गराउन सहायता गर्छ । हामीले दिएको डिभाइसबाट उनीहरू शैक्षिक कार्यक्रम एक्सेस गर्न सक्छन् अनि मनोरञ्जन पनि लिन सक्छन् । यसले कैदीहरूको व्यवहार सुधार्न सहायता गर्छ । हामीहरू यसलाई थप सुरक्षित बनाउनेछौं ।’

अहिले चाहिँ कम्पनीले मनी ट्रान्सफर, म्युजिक र गेम डाउनलोड गर्ने सुविधा बन्द गरेको छ । कैदीले यो डिभाइसबाट मेल मात्र गर्न सक्छन् ।