घना जंगलमा एक्लै बस्छन् यी व्यक्ति, दुर्लभ भिडियो फेला (भिडियो)

६ श्रावण २०७५, आईतवार १३:३३

साउन ६, काठमाडौं । एजेन्सी

ब्राजिलको इन्डियन फाउन्डेसनले यसै हप्ता पहिलोपटक जारी गरेको भिडियोमा एक व्यक्तिको दुर्लभ तस्वीर कैद भएको छ ।

यी व्यक्ति को हुन् र कोसँग आए भन्ने कुरा कसैलाई थाहै छैन । हेर्दाखेरी ब्राजिलको अमेजन जंगलमा २२ वर्षदेखि एक्लै बसेको देखिन्छ ।

आफ्नो कबिलाको अन्तिम व्यक्ति यिनै हुनुपर्छ । यो फूटेज सन् २०११ मा लिइएको छ तर आदिवासीहरूमाथि नजर राख्ने समूहका एक व्यक्तिले ती आदिवासीहरू जीवित रहेको प्रमाण अन्तिमपटक मे महिनामा भेटिएको थियो ।

पातहरूले ढाकेर अलिक टाढाबाट लिइएको यो फूटेजमा ती व्यक्तिले रुख काटिरहेको देखिन्छ । भिडियोमा बञ्चरोले रुख काटेको अनि चरा चिर्बिर गरेको आवाज सुनिन्छ । भिडियोसँगै प्रेस नोट पनि दिइएको थियो ।

उक्त व्यक्तिलाई निगरानी गर्ने समूहका संयोजक अल्टेयर अल्गाएर फाउन्डेसनले यो भिडियो जारी गर्न नचाहेको बताए ।

ती व्यक्तिसँग भिडियो सार्वजनिक गर्ने अनुमति नलिएको उनले जानकारी दिए । बाहिरी संसारबाट दूरी राख्नका लागि
संघर्ष गरिरहेका व्यक्तिको पीडातर्फ ध्यान खिच्नका लागि तस्वीर तथा भिडियो सार्वजनिक गरेको उनले बताए ।

अल्गाएरले टेलिफोन अन्तर्वार्तामा भने, ‘धेरै मानिस यो भिडियो हेर्न चाहन्छन् । उनीहरू त्यो व्यक्ति कस्ता छन्, उसलाई कसरी देख्न सकिन्छ, ऊ अझै पनि जिउँदै छ कि छैन भन्ने जिज्ञासा छ ।’

      (भिडियो)

इन्डियन फाउन्डेसनले सन् १९९६ देखि उक्त व्यक्तिमाथि नजर राखिरहेको छ । त्यतिखेर उनी रोन्डोनिया राज्यको जंगलमा एक्लै बसेको देखिएका थिए ।

उसका कबिलाका अन्य मानिस सन् १९९५ वा १९९६ मा मरेका हुनुपर्छ । फाउन्डेसनका सदस्यहरूले उनीसँग सम्पर्क गर्ने कोशिश गरेको भएपनि उनले बाहिरी संसारसँग जोडिन कुनै चासो देखाएनन् ।

उसमाथि निगरानी गर्ने समूहले उसलाई इन्डिन अफ द होल भनेर बोलाउने गरेका छन् किनकि उनले ठूलो खाल्डो खनेका छन् ।

अल्गाएरका अनुसार, ती व्यक्तिको उमेर ५५ देखि ६० वर्ष छ र स्वास्थ्य राम्रो छ ।