गुफामा थुनिएका किशोरको उद्धारकार्य शुरू

२४ असार २०७५, आईतवार १०:२४

असार २४, काठमाडौं । एजेन्सी

थाइल्यान्डको एक गुफामा असार ९ गतेदेखि फसेका युवा फूटबल टोलीका १२ खेलाडी र प्रशिक्षकलाई बाहिर ल्याउनका लागि उद्धार अभियान शुरू भएको छ ।

उद्धारटोली स्थानीय समयअनुसार बिहान १० बजे गुफामा पसेको उद्धार अभियान प्रमुख नारोनगसान ओसोतानकोनले बताए ।

आवश्यकभन्दा बाहेक अन्य सबै कर्मचारीलाई गुफाको प्रवेशद्वार क्षेत्रबाट बाहिर निकालिएको छ । अब त्यहाँ गोताखोर, चिकित्सक र सुरक्षाकर्मी मात्र छन् ।

उद्धारको अनुकूल परिस्थिति बनेका कारण उद्धारकर्ताहरू गुफामा पसेका हुन् । आगामी ७२ घन्टा उद्धारका लागि महत्त्वपूर्ण हुनेछन् ।

उद्धार अभियानका प्रमुखले शनिवार बताएअनुसार, फेरि पानी पर्ने अनि कार्बनडाइअक्साइडको स्तर बढ्ने सम्भावना भएकाले त्यसअघि नै बाढीले भरिएको गुफाबाट किशोरहरूको उद्धार आवश्यक छ ।

प्रमुखले यसो भनिरहँदा मौसम विभागले शनिवारदेखि नै भारी वर्षाको चेतावनी दिएको छ । किशोरहरूलाई सुरक्षित निकाल्नका लागि संसारभरि प्रार्थना गरिँदैछ ।

थाम लुआङ गुफामा वाइल्ड बोअर फूटबल टोलीका १२ खेलाडी र कोच फसेपछि देशभरिको ध्यान त्यहीँ टिकेको छ । पत्रकारहरूलाई भने, ‘अब तीन दिनभित्र किशोरहरूलाई निकालिसक्नुपर्छ । हामीले के गर्न सक्छौं भन्ने विषयमा स्पष्ट
फैसला लिनुपर्छ ।’

ओसोतानकोनका अनुसार, गुफाभित्र अक्सिजन स्तर स्थिर भएको छ । उक्त क्षेत्रमा जलस्तर बढ्न सक्छ अनि बच्चाहरूको गुफाबाहिर पौडेर निस्कन सक्ने स्थिति छैन ।

यसैबीच गुफामा फसेका किशोरहरूले आफ्ना आमाबुवाका नाममा लेखेको भावुक पत्र नेभी सीलले सार्वजनिक गरेको छ । किशोरहरूले आफ्ना आमाबुवालाई चिन्तित नहुन अपील गरेका छन् अनि फर्केपछि आफूलाई मन लागेको
खानेकुरा खाने बताएका छन् ।

फसेकामध्ये एक किशोरको १६ जन्मदिन गुफामै मनाइएको छ ।

किशोर फूटबलरहरूका २५ वर्षीय प्रशिक्षकले पनि पत्र लेखेर सबै किशोरहरू सुरक्षित रहेको आश्वासन दिए । किशोरहरूलाई गुफामा फस्नका लागि आफू दोषी भएको बताउँदै उनले माफी पनि मागेका छन् । उनीहरूको हरसम्भव
रेखदेख गर्ने र सुरक्षित राख्नका लागि सबै उपाय अपनाउने पनि उनले लेखे ।

किशोरहरूका आमाबुवाले प्रशिक्षकलाई माफी गरिदिएको खबर पनि आएका छन् ।

खराब मौसम र अक्सिजनको कमीका कारण उद्धार टोलीलाई अभियान जारी राख्न गाह्रो परिरहेको छ । किशोरहरूलाई गुफामा पर्याप्त अक्सिजन पु–याउनका लागि सयभन्दा बढी चिम्नी गुफामा जोडिएको छ ।