गर्भवती महिलाहरूलाई खुवाइयो भियाग्रा, बच्चाको मृत्यु

९ श्रावण २०७५, बुधबार १३:५०

साउन ९, काठमाडौं । बीबीसी

नेदरल्यान्ड्समा गर्भवती महिलाहरूमाथि भियाग्राको चिकित्सकीय परीक्षण गर्दा ११ नवजातको मृत्यु भएपछि तत्कालै परीक्षण रोकिएको छ ।

अनुसन्धानमा भाग लिइरहेका महिलालाई यौनवर्द्धक औषधि भियाग्रा दिइएको थियो । गर्भस्थ शिशुहरूको गर्भनाल कमजोर भएका महिलामाथि यो परीक्षण गरिएको थियो ।

शरीरमा रगतको प्रवाह बढाउने यो औषधिले बच्चाहरूको फोक्सोमा गम्भीर हानि पु–याउने गरेको खुल्यो । वास्तवमा के भएको थियो जान्नका लागि विस्तृत जाँच आवश्यक रहेको विशेषज्ञहरूले बताए ।

यसअघि बेलायत, अस्ट्रेलिया र न्युजिल्यान्डमा गरिएका यस्तै अनुसन्धानमा कुनै हानि देखिएका थिएनन् । तर फाइदा पनि पत्ता लागेको थिएन । कमजोर गर्भनालका कारण नजन्मेका बच्चाहरूको विकास राकिनु एक गम्भीर रोग हो जसको कुनै पनि उपचार छैन ।

यसले गर्दा बच्चाहरू समयअगावै जन्मिन्छन् । कमजोर भएका कारण उनीहरूको बाँच्ने सम्भावना कम हुन्छ । यस्तोमा भियाग्राले शिशुहरूको तौल बढाउने अनि जन्मको समय अघि धकेल्ने काममा सहायता गर्ने अपेक्षा थियो । अनुसन्धानका क्रममा ९३ महिलालाई भियाग्रा दिइएको थियो भने ९० महिलालाई डमी औषधि खुवाइएको थियो ।

जन्मेपछि बीस शिशुलाई फोक्सोसम्बन्धी रोग लाग्यो । तीमध्ये तीन बच्चाका आमालाई डमी औषधि दिइएको थियो । तीमध्ये ११ बच्चाको मृत्यु भयो ।

बेलायतमा भएको यस्तै अनुसन्धानमा भाग लिने लिभरपूल विश्वविद्यालयका प्राध्यापक जार्को अल्फिरेभिचले नेदरल्यान्ड्सको यो अनुसन्धान अप्रत्याशित रहेको बताए ।