क्यानडाको गोलीकाण्डमा एकजनाको मृत्यु, १५ घाइते

७ श्रावण २०७५, सोमबार ११:४६

साउन ७, काठमाडौं । एजेन्सी

क्यानडाको टोरन्टोमा भएको अन्धाधुन्ध गोलीकाण्डमा एकजनाको मृत्यु भएको तथा १५ जना घाइते भएको खबर छ ।

प्रहरी प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार, गोलीकाण्ड स्थानीय समयअनुसार आइतवार राति १० बजे भएको थियो ।

ग्रीकटाउनको लोगान एन्ड जेनफोर्थ एभेन्युजमा घटना भएको हो ।

प्रत्यक्षदर्शीहरूले सिटी न्युजलाई बताएअनुसार, लगभग २५ चोटि गोली चलेको आवाज सुनिएको थियो । एउटा रेस्टुराँबाहिर गोलीकाण्ड भएको हो ।

प्रहरी प्रमुख मार्क स्यान्डर्सले १५ जनालाई गोली लागेकोमा एकजनाको मृत्यु भएको पुष्टि गरे । घाइतेमध्ये नौ वर्षकी एक बच्ची पनि छन् र उनको हालत गम्भीर छ ।

खबरहरूका अनुसार, आक्रमणकारीको मृत्यु भएको छ तर उसको मृत्यु कसरी भयो भन्ने प्रस्ट छैन ।

६ जना पीडितलाई ट्रमा सेन्टर पठाइएको छ भने बाँकीलाई स्थानीय अस्पताल पु–याइएको छ ।