कारागारभित्रै विष खुवाएर कैदीको हत्या

८ श्रावण २०७५, मंगलवार १६:५१

साउन ८, काठमाडौं ।

ललितपुरको नख्खु कारागारभित्रै एक जना कैदीको हत्या भएको पुष्टि भएको छ ।कर्तव्य ज्यान तथा जबरजस्तीकरणी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका भक्तबहादुर सुनुवारको कारगारभित्रै हत्या भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार पत्रकार सम्मेलन गरेर अर्का कैदी ‘सिरियल किलर’ अभिषेक सिंहको योजनामा विष खुवाएर सुनुवारको हत्या गरिएको जानकारी दिएको हो ।

ब्यूरोका निर्देशक नारायणसिंह खड्काका अनुसार ४० वर्षीय सिंहको योजना, कैदी ३५ वर्षीय मनोजकुमार चौरसिया र कैद सजाय भुक्तान गरी छुटेका ध्रुवकृष्ण शर्माको सहयोगमा सुनुवारको हत्या भएको खुलेको छ ।

‘घटनाको अनुसन्धान सकिएको छ । सुनुवारलाई वनस्पतीजन्य पदार्थको समिश्रणबाट विष तयार गरेर खानामा प्रयोग हत्या भएको निष्कर्षसहित जिल्ला सरकारी वकिल कार्यालयमा हामीले रायसहितको प्रतिवेदन समेत बुझाएका छौं’, उनले भने, ‘मुख्य योजनाकार सिंहले विगतमा सुर्खेत, भक्तपुर र जनकपुरमा ३ वटा हत्याको घटना गराएका थिए भने रुपन्देहीमा ज्यान मार्ने उद्योगमा मुद्दा चलाइएको थियो ।’