कानून मन्त्री शेरबहादुर तामाङ र प्रसाईलाई कारबाही गर्न राप्रपाको माग

६ श्रावण २०७५, आईतवार १४:०७

साउन ६, काठमाडौं ।

कानून मन्त्री शेरबहादुर तामाङले बंगालादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली महिलामाथि दिएको अभिव्यक्ति प्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले आपत्ति प्रकट गरेको छ ।

आइतबार एक विज्ञप्ती जारी गर्दै राप्रपाले मन्त्री तामाङको गैरजिम्मेवार अभिव्यक्तिलाई ध्यान दिई अबिलम्ब मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली चेली र समग्र नेपाली महिलाको अस्मिता माथि नै ठेस पुग्ने गरि कानु मन्त्री शेरबहादुर तामाङको अभद्र, अशिष्ट र आपत्तिजनक अभिव्यक्तिप्रति राप्रपा निन्दा एवं भत्सर्ना गर्दछ ।’

साथै केही दिन अघि यस्तै खालको अभिव्यक्ति दिने वि एण्ड सि हस्पिटलका सञ्चालक दुर्गा प्रसाइलाई कानूनको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न राप्रपाले सरकारसँग माग गरेको छ ।

एक कार्यक्रममा कानुनमन्त्री तामाङले बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्न जाने नेपाली विद्यार्थी यौन उत्पीडनको शिकार बन्ने गरेको बताएका थिए ।