एक मानिसलाई मारेपछि २९२ गोहीको हत्या

२ श्रावण २०७५, बुधबार ०९:१५

साउन २, काठमाडौं । एजेन्सी

इन्डोनेसियामा गोहीको आक्रमणमा एक व्यक्ति मारिएपछि त्यसको बदला लिन मानिसहरूले २९२ गोही मारिदिएका छन् ।

देशको पश्चिमतर्फको पपुआ प्रान्तमा यो घटना भएको हो । सुगिटो नामक व्यक्ति तलाउनजिक चारा खोज्न गएका थिए । त्यतिखेर गोहीले उनीहरूमाथि आक्रमण गरे । पछि उनको मृत्यु भयो ।

जुन फार्महाउसमा यी गोही पालिएका थिए त्यसका मालिकले मृतकका परिवारजनलाई क्षतिपूर्ति दिने वाचा गरेपनि उनीहरू मानेनन् । सुगिटोको अन्तिम संस्कारपटि उनका नातेदार र स्थानीय मानिसले रिस व्यक्त गर्दै प्रहरी चौकीसम्म जुलुस निकाले ।

उनीहरूले घरबाट हतौडा र चक्कु ल्याए अनि फार्महाउसमा पसेर गोहीलाई मार्न शुरू गरे । संरक्षण अधिकारी बसर मनुलाङका अनुसार, मानिसहरूले चार इन्चका साना गोहीलाई पनि निर्ममतापूर्वक हत्या गरे ।

प्रहरीले सयौं मानिसको क्रुद्ध भीडको तुलनामा आफ्नो संख्या सानो भएको मान्यो । सबै आरोपितहरूमाथि मुद्दा चलाउने तयारी गरिएको छ ।

मनुलाङले घटनामा फार्म मालिकको पनि गल्ती रहेको माने किनकि उसले गोहीबाट सुरक्षाका लागि प्रबन्ध मिलाएन ।