उपमहानगरपालिकाका प्रमुख सुब्बाको भोलि दाहसंस्कार गरिने

४ श्रावण २०७५, शुक्रबार १३:४४

साउन ४, काठमाडौं ।

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको छ ।

काठमाडौंको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ ।

उनको पार्थिव शरीर भोलि ११.३० बजेपछि नगरवासीको सामूहिक श्रद्धाञ्जलिका लागि धरान १२ को पब्लिक माविको खेल मैदानमा ल्याइने कार्यक्रम पनि तय गरिएको छ ।

धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेका अनुसार धरानवासीले अन्तिम दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीर पब्विलको खेल मैदानमा राखिने तथा त्यसपछि धरान उपमहानगरको मुख्य मुख्य स्थानमा शव यात्रासहित धरान १८ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहद्वारा संरक्षित वन क्षेत्रमा जातीय परम्परा अनुसार उनको अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार गर्ने कार्यक्रम तय भएको छ ।

सुब्बालाई अन्तिम श्रद्धाञ्जली दिन सरकारका तर्फबाट उप–प्रधानमन्त्री ईश्वर पोख्रेल धरान आउँदैछन् ।

सुब्बाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलिसहित दाहसंस्कार हुने उपप्रमुख मञ्जु भण्डारीले जानकारी दिइन् ।