सुझाव सङ्कलन गर्दै नेपाली कांग्रेस

२७ जेष्ठ २०७५, आईतवार ०५:५७

जेठ २७, काठमाडौं । गोरखापत्र

नेपाली कांँग्रेसका ७७ वटै जिल्ला सभापतिहरू कांग्रेसलाई नयाँ ढाँचा र शैलीमा लैजाने विषयमा कार्यकर्ताबाट राय सुझाव सङ्कलन गर्न व्यस्त छन् ।

असारको ५ देखि ७ गतेसम्म हेटौंडामा हुने जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा प्रस्तुत गर्ने उद्देश्यले सभापतिहरूले टोल, गाउँ, नगर, क्षेत्र र जिल्लामा कार्यकर्ता भेला गराएर राय सुझाव सङ्कलन गरिरहेका हुन् ।

पार्टीका उपसभापति विमलेन्द्र निधिले पार्टीलाई नयाँ ढङ्गले लैजान सबै जिल्लामा राय सुझाव लिन निर्देशन जारी गरेको बताए । उनले सङ्घीय संरचना अनुसार पार्टीको अबको सङ्गठन ढाँचा कस्तो हुने, नीति तथा कार्यक्रम र पार्टीले लिनुपर्ने भावी रणनीतिका बारेमा देशभर छलफल भइरहेको जानकारी दिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले अबको पार्टीको विधान कस्तो बनाउने, क्रियाशील सदस्यताको वितरण प्रक्रिया कस्तो हुने, सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक मुद्दामा काँग्रेसले खेल्नुपर्ने भूमिका जस्ता मुद्दामा हरेक जिल्लाको तल्लो तहसम्म गहन छलफल भइरहेको बताए ।