सालहविना मैदान उत्रिएको इजिप्टलाई बेल्जियमले ३–० गोल अन्तरले हरायो

२४ जेष्ठ २०७५, बिहीबार ०६:२१

जेठ २४, काठमाडौं ।

विश्वकप फुटबलको अभ्यास खेलमा बेल्जियमले इजिप्टलाई ३–० गोल अन्तरले हराएको छ ।

बेल्जियमको जितमा रामेलु लुकाकु, इडन हाजार्ड र फेलाइनीले गोल गरे ।

२७ मिनेटमा रामेलुको गोलबाट बेल्जियमले अग्रता लिएको थियो । त्यसपछि हाजार्डले ३८ औं मिनेटमा एक गोल थपे । पहिलो हाफ दुई–शून्यको अवस्थामा सकिएको बेला दोस्रो हाफको इन्जुरी समयमा फेलानीले पनि एक गोल थपेपछि बेल्जियम तीन–शून्यले विजयी भयो ।

मोहम्मद सालहविना मैदान उत्रिएको इजिप्ट बेल्जियमसामु निरिह देखियो । सालह घाइते भएकाले मैदान बाहिर छन् ।

विश्वकपका लागि इजिप्ट समूह ‘ए’मा र बेल्जियम समूह ‘जी’मा छन् । समूह ‘ए’मा इजिप्टसहित रुस, साउदी अरेबिया र उरुग्वे छन् । यसैगरी समूह ‘जी’मा बेल्जियम, इंग्ल्याण्ड, पानामा र ट्युनिसिया छन् ।

अन्तराष्ट्रिय मैत्रीपूर्ण अन्तर्गत अरु खेलमा नर्वेले पानामा तथा चेक गणतन्त्रले नाइजेरियालाई समान १–० ले हरायो । तर बेलारुस र हंगेरीले १–१ को बराबरी खेले ।