विश्वकप फुटबलमा कुन देशको जर्सी कस्तो ? १० चर्चित जर्सी

२५ जेष्ठ २०७५, शुक्रबार ०८:०३

जेठ २५, काठमाडौं । डेली मेल

यो वर्ष रुसमा आयोजना हुने विश्व फुटबलको महाकुम्भ फिफा विश्वकपमा ३२ राष्ट्रले प्रयोग गर्ने जर्सीका बारेमा अनेक कुरा आइरहेका छन् । कसको जर्सी कस्तो ? कुन राम्रो भन्ने बहसमा फुटबल समर्थक देखिन्छन् ।

विश्वकप खेल्ने राष्ट्रिय टोलीको लागि धेरैजसो देशले आफ्नो राष्ट्रिय झण्डा, राष्ट्रिय चिन्हको आधारमा जर्सी बनाउने गर्छन् ।

देशलाई एकताको सुत्रमा बाँध्ने र विश्वमञ्चमा आफ्नो देशको विशेष पहिचान झल्काउने भएकाले जर्सी बनाउँदा सबै देशले धेरै ध्यान दिने गर्छन् ।

आज हामीले विश्वकप फुटबलको इतिहासकै चर्चित १० जर्सीहरुको सूची तयार गरेका छौं । हेरौं कस्ता कस्ता छन् त विश्वकपका अहिलेसम्मका चर्चित १० जर्सीहरुः

१०. अर्जेन्टिना, १९७८

अर्जेन्टिना कहिल्यै पनि नराम्रो जर्सीको साथमा विश्वकप खेल्न जाँदैन । अर्जेन्टिनाको टिमले सन् १९९८, २००२ र २०१४ मा लगाएका जर्सीको डिजाइनहरु उत्कृष्ट हुँदाहुँदै पनि यो सूचीमा परेका छैनन् ।

तर, उनीहरुले सन् १९७८ को विश्वकपमा लगाएको होम जर्सी साँच्चै नै आकर्षक थियो । उनीहरुले घरेलु मैदानमा यो जर्सी लगाएर विश्वकप उचालेकाले मात्रै होइन । विशेष कुरा, यो जर्सीमा खेलाडीहरुको नम्बर उनीहरुको वर्णानुक्रम अनुसार दिइएको थियो ।

९. संयुक्त राज्य अमेरिका, १९९४

सन् १९९४ को विश्वकपको सबैभन्दा चर्चित दृश्यको रुपमा अमेरिकी डिफेन्डर एलेक्सी लालास कोलम्बियाविरुद्ध जित हात पारेपछि निलो ताराअंकित जर्सीमा खुसीले उफ्रिएको दृश्यलाई लिइन्छ ।

अमेरिकाको निलो अवे जर्सीमा छरिएका ताराहरु सुन्दरताको नमुना थिए । यो जर्सी यति धेरै राम्रो थियो कि त्यसको तुलनामा धर्काभएको होम जर्सी फिक्का देखिएको थियो ।

८. इंग्ल्याण्ड, १९८२

इंग्ल्याण्डको जर्सीमा धेरै थोक राखिएका हुँदैनन् र यो नराम्रो कुरा पनि त होइन् । वास्तवमा इंग्ल्याण्डको टिमले १९८२ को विश्वकपमा थ्री लायन्स होम जर्सी लगाएर खेल्दा राम्रो नतिजा नआए पनि यसलाई इंग्ल्याण्डको अहिलेसम्मकै उत्कृष्ट जर्सी मानिन्छ ।

७. नेदरल्याण्ड, १९७४

नेदरल्याण्डलाई सन् ३० ताकाको विश्वकपपछि कसैले पनि विश्वकपमा देखेका थिएनन् । तर जब धेरै समयपछि नेदरल्याण्ड सन् १९७४ को विश्वकपमा छानियो, उसले त्यतिखेर पूरा फुटबल र सुन्तला रंगको होम जर्सीको साथमा धमाका मच्चायो ।

यो टिमको शैलीले फुटबललाई एउटा नयाँ कालखण्डमा लैजान सफल भयो । त्यस्तै जर्सीको सरल डिजाइनलाई पनि सबैले मन पराए । यो जर्सीमा नौ आउटफिल्ड खेलाडीको लागि एक राष्ट्रिय चिन्हसहित एडिडासको तीन धर्का राखिएको थियो तर बाँकी एक खेलाडीको लागि भने अर्कै डिजाइनको जर्सी बनाइएको थियो ।

किनभने जोहान क्रुफको एडिडासको प्रतिद्वन्दी पुमासँगको व्यावसायीक सम्झौता भएका कारण उनको लागि भने दुई धर्के जर्सी बनाइएको थियो ।

६. जर्मनी, १९९४

एडिडासले बनाएको ९० को दशकको सबैभन्दा चम्किलो राष्ट्रिय टिमको जर्सी जर्मनीको १९९४ को विश्वकप जर्सी हो र यो साह्रै नै आकर्षक थियो ।

जर्मनी अमेरिकामा डिफेन्डिङ च्याम्पियनको रुपमा गएको थियो र उनीहरुको सेतो होम जर्सीलाई राष्ट्रिय झण्डाको रंगले काँधदेखि छातीको भागसम्म छोपिएको थियो ।

५. मेक्सिको, १९९८

१९९८ को फ्रान्स विश्वकपमा मेक्सिकोको युवा टोलीले कार्लोस हर्मोसिलो जस्ता अनुभवी स्टारलाई विवादास्पद रुपमा नजरअन्दाज गरेको थियो । तर नसोचेको नतिजा आयो र उनीहरु नयाँ युगमा प्रवेश गरे ।

हरियो रंगको आकर्षक स्वदेशी हरियो जर्सीमा लुइस हर्नान्डेजको उत्कृष्ट खेलले मेक्सिको अन्तिम १६ मा स्थान बनाउन सफल भयो । तर त्यसभन्दा माथि जान सकेन ।

४. पेरु, १९७०

छड्के धर्का भएको जर्सी संधै लोकप्रिय हन्छ तर यसलाई एक देशले मात्रै आफ्नो पहिचानको रुपमा लिएको छ ।

सन् १९३६ देखि पेरुले बाँया काँधबाट सुरु दाँया कम्मरसम्म आउने रातो धर्के जर्सी लगाउन थालेको हो र त्यसमध्ये पनि सन् १९७० को पेरुको होम जर्सी सबैभन्दा राम्रो थियो ।

३. ब्राजिल, १९७०

जब ब्राजिलले मेक्सिकोमा तेस्रो विश्वकप उचाल्यो त्यतिखेर ब्राजिलको पहेँलो र हरियो जर्सीहरु दुई दशकभन्दा कम उमेरका थिए । यसै विश्वकप पछि नै ब्राजिलको पहेँलो होम जर्सी नचिन्ने कोही पनि फुटबलप्रेमी भएनन् ।

अहिलेसम्मकै उत्कृष्ट मानिने उक्त ब्राजिली टिममा पेले, जर्जिन्हो, टोस्टाओ र रिभेलिनोले सबैलाई बढारिदिए र फाइनलमा इटाली माथि ४–१ को जित दर्ता गरे ।

ब्राजिलले यसअघि सन् १९६२ र १९५८ मा पनि विश्वकप जितेको थियो तर यो विश्वकपको वर्ष रंगिन टिभी भर्खर आएको थियो र टेलिभिजन हेर्ने दर्शक पनि बढेका थिए त्यसले पनि ब्राजिलको पहेँलो जर्सीलाई कहिल्यै पनि नर्बिसने बनाइदियो ।

२. क्रोयसिया, १९९८

पेरुको छड्के धर्सा जस्तै क्रोयसियालाई उनीहरुको नौलो चेक जर्सीबाट छुट्याउन सकिँदैन । त्यसमा पनि १९९८ को फ्रान्स विश्वकपमा १० क्रोयसियाको टिमले लगाएको जस्तो राम्रो जर्सी अर्को हुँदैन होला ।

त्यतिखेर डाभोर सुकेर क्रोयसियाका उच्च गोलकर्ता थिए र उनीहरुले पहिलोपटक लोट्टोको जर्सी लगाएका थिए । रातो सेतो चेकले दुई तिहाइ भाग ढाकेको आकर्षक होम जर्सी उनीहरुले किन परिवर्तन गरे भन्ने पनि धेरैलाई लाग्न सक्छ ।

१. पश्चिम जमर्नी, १९९०

९० को दशकले चम्किलो डिजाइनहरु, विभिन्न रंगहरु मिसिएको र विभिन्न खाले प्याटर्नहरु फुटबलको जर्सीमा राख्न थालियो । सबै देशका जर्सी मिसाएमा हेर्दा मेक्सिकन गोलरक्षक जर्ज क्याम्पोसको जस्तै देखिन सक्छ ।

सन् १९९० को पश्चिम जमर्नीको इटाली विश्वकपको होम जर्सी यस्ता जर्सीको पहिलो अवधारणा हो जसमा जमर्नीको झण्डालाई अमूर्त रुपमा जर्सीको अगाडिको भागमा राखिएको थियो ।

त्यस्तै त्यस जर्सीको डिजाइनमा भएको उच्च विन्दुले जर्मनीको १९७४ को विश्वकपको विजयलाई जनाउँछ र तल एकैचोटी तल झरेको धर्काले उनीहरु १९७८ मा दोस्रो राउण्डबाट बाहिरिएको संकेत गर्छ, त्यसपछि थोरै बढेको धर्काले सन् १९८२ को फाइनलको हार र त्यसपछिको स्थिर तेर्सो धर्साले सन् १९८६ को फाइनल हारेको संकेत गर्छ ।

त्यसपछि फेरि माथि गएको धर्काले १९९० को विश्वकप जित्ने भविष्यवाणी गरेको थियो । पश्चिम जर्मनीले जर्सीमा गरेको भविष्यवाणी जस्तै १९९० को विश्वकप उपाधी पनि उचालेरै छोड्यो त्यसैले पनि यो जर्सीलाई अहिलेसम्मकै चर्चित विश्वकप जर्सी मानिन्छ ।