विश्वकपमा आज तीन खेल, को-कसमाथि आक्रामक ?

१० असार २०७५, आईतवार १०:२९

असार १०, काठमाडौं । एजेन्सी

फूटबल विश्वकपको ११औं दिन आइतवार तीनवटा खेल छन् । इंग्ल्यान्ड र पनामा पौने ६ बजे, जापान र सेनेगल पौने ९ बजे अनि पोल्यान्ड र कोलम्बिया पौने १२ बजेदेखि शुरू हुने खेलमा भिड्दैछन् ।

इंग्ल्यान्डले विश्वकपमा पहिलोपटक खेल्न आएको पनामालाई हराएर राउन्ड अफ १६ मा स्थान बनाउन खोजिरहेको छ । उसले पहिलो म्याचमा ट्युनिसियालाई २–० ले हराएको थियो ।

इंग्ल्यान्ड कप्तान ह्यारी केनले उक्त खेलमा दुवै गोल गरेका थिए । उनीबाट आज त्यस्तै खेलको अपेक्षा गरिएको छ ।

इंग्ल्यान्डले ट्युनिसियालाई हराएर १२ वर्षपछि विश्वकपमा जीतका साथ शुरूआत गरेको थियो । टीममा ह्यारी केन र रहीम स्टर्लिङ जस्ता स्ट्राइकर छन् । यो टोली विश्व वरीयतामा १२ औं स्थानमा छ । पनामालाई हराएर ऊ अन्तिम १६ मा स्थान पक्का पार्ने ध्याउन्नमा छ ।

उता पहिलो म्याचमा बेल्जियमसित हारेको पनामाले प्रिक्वार्टरफाइनलमा पुग्नका लागि इंग्ल्यान्डलाई हराउनैपर्ने बाध्यता छ ।

इंग्ल्यान्डका कोच ग्यारेथ साउथगेटले नामाविरुद्धको म्याचलाई हलुका रूपमा नलिनका लागि खेलाडीहरूलाई चेतावनी दिएका छन् ।

अर्को म्याचमा अफ्रिकी मुलुक सेनेगल र एसियाली मुलुक जापानको भिडन्त हुँदैछ । सेनेगल सन् २००२ को विश्वकपमा राउन्ड अफ १६ मा पुगेको थियो । जापान चाहिँ तेस्रोपटक राउन्ड अफ १६ मा पुग्नका लागि भिड्दैछ ।

जापान र सेनेगल दुवैले आफ्नो पहिलो म्याच जितेका छन् । जापानले कोलम्बियालाई अनि सेनेगलले पोल्यान्डलाई हराएको हो । यो म्याच जित्ने टोलीले अर्को चरणमा पुग्ने सम्भावनालाई बलियो बनाउनेछ ।

सेनेगलले सादियो मानेबाट फेरि उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ ।

जापानले अघिल्लो म्याच आक्रामक खेलेको थियो र यसमा पनि उसले त्यही रणनीतिका साथ खेलेर फेरि जीत हासिल गर्ने कोशिश गर्नेछ ।

तेस्रो म्याचमा पोल्यान्डले प्रतियोगितामा टिकिरहनका लागि कोलम्बियालाई हराउनैपर्ने स्थिति छ । कोलम्बियाको पनि त्यही स्थिति छ । यो म्याचमा पोल्यान्डका रोबर्ट लेभेन्दोस्की र कोलम्बियाका हामेस रोड्रिगेजमाथि नजर रहनेछ ।

  • रोड्रिगेजले अघिल्लो विश्वकपमा ६ गोल गरेर गोल्डेन बूट जितेका थिए ।

अघिल्लो म्याचमा पोल्यान्डका कप्तान रोबर्ट लेभेन्दोस्की बल पाउन नै संघर्ष गरेका देखिए । त्यसले गर्दा उक्त म्याचमा पोल्यान्डले खास केही गर्न सकेन । यस खेलमा उनको सुधारिएको प्रदर्शनको अपेक्षा गरिएको छ ।

अर्कातर्फ कोलम्बियाले पनि अघिल्लो खेलको भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा छ । कोलम्बियाको टोलीले विश्वकपमा युरोपेली मुलुकहरूविरुद्ध अहिलेसम्म नौ म्याच खेलेकोमा जम्मा दुईवटा जितेको छ भने पाँचमा हार बेहोरेको छ ।