विश्वकपमा आजबाट एकसाथ खेलाइन्छ दुई खेल, किन एकै समयमा खेलाइन्छ समूहको अन्तिम चरणका खेल ?

११ असार २०७५, सोमबार ०७:१६

असार ११, काठमाडौं ।

रुसमा जारी विश्वकप फूटबल प्रतियोगितामा आजबाट समूहका अन्तिम चरणका खेलहरू हुँदैछन् ।

प्रतियोगितामा सहभागी ३२ वटै टोलीले २-२ खेल खेलिसकेका छन् । समूहमा अब सबैले १-१ खेल खेल्न बाँकी छ ।

यसक्रममा सोमबार ४ खेल हुँदैछन् । बेलुका पौने ८ बजे ‘समूह ए’का साउदी अरेबिया र इजिप्ट तथा उरुग्वे र रुस भिड्नेछन् भने राति पौने ११ बजे ‘समूह बी’का इरान र पोर्चुगल तथा स्पेन र मोरक्को आमनेसामने हुनेछन् ।

रुस र उरुग्वे दुवै नकआउट चरणमा प्रवेश गरिसकेकाले आजको खेल समूह विजेता टुंगो लगाउन निर्णायक हुनेछ । इजिप्ट र साउदीले भने प्रतिष्ठाका लागि खेल्नेछन् ।

‘समूह बी’मा भने समीकरण रोचक छ । मोरक्कोका लागि आजको खेल अन्तिम हुने पक्का भए पनि बाँकी तीनमध्ये कुन एक टीम मोरक्कोसँगै घर फर्किँदैछ भन्ने टुंगो लाग्न बाँकी छ ।

मोरक्कोलाई पराजित गर्न सके वा बराबरी खेलेमा पनि स्पेन अघि जानसक्छ भने पोर्चुगललाई पनि इरानसँग अंक खोस्नै पर्ने बाध्यता छ ।

यस्तै पोर्चुगललाई हराउन सके इरान पनि अघिल्लो चरणमा पुग्ने सम्भावना जीवित छ । यी ३ मध्ये २ टोली अघिल्लो चरणमा जान सक्छन् । तीनवटै टीमलाई इलिमिनेसनको खतरा पनि कायम छ ।

  • किन एक साथ खेलाइन्छ समूहको अन्तिम चरणका खेल ?

यसअघिका हरेक खेल फरक-फरक समयमा हुँदै आएकोमा अब एकसाथ २-२ खेल हुँदैछ । अझै प्रस्ट पार्नुपर्दा एक समूहका दुवै खेल एकै समयमा हुनेछ ।

किन एकसाथ दुई खेल खेलाइएको भन्ने जिज्ञासा आमपाठकमा हुनसक्छ ।

यसको मुख्य कारण हो, एक खेलको नतिजाले अर्को खेललाई प्रभावित नपारोस् भन्ने सतर्कता ।

उदाहरणका लागि ‘समूह बी’लाई नै लिऔं –

यस समूहमा स्पेन, पोर्चुगल, इरान र मोरक्को छन् । मोरक्कोबाहेक बाँकी टीमको भाग्य र भविष्यको फैसला अन्तिम चरणको खेलबाटै हुनेछ ।

जीत र बराबरीले स्पेन र पोर्चुगल दुवैलाई अघिल्लो चरणमा पुर्‍याउने छ । हार्दा भने एकले अर्कोको नतिजामा भर पर्नुपर्छ । यी खेल एकसाथ नहुने हो भने पछिल्लोपटक खेल्ने टीमलाई अगाडि जान कुन-कुन अवस्था आफ्ना लागि अनुकूल छ भन्ने प्रस्ट हुन्छ र उसले त्यसबाट लाभ लिनसक्छ ।

समूहका सबै खेल एकसाथ हुने हो भने त्यस्तो लाभ कुनै पनि टीमलाई हुँदैन र सबैले समान स्थितिमा खेल्न पाउँछन् ।

एउटा खेलको नतिजाले अर्कोमा प्रभाव नपारोस् भन्नका लागि विश्वकपमा समूहका अन्तिम खेल एकसाथ खेलाउने गरिएको हो ।