मेस्सीको जन्मदिनसँगै १२ रोचक तथ्य ! आजबाट मेस्सी कति बर्ष पुगे ?

१० असार २०७५, आईतवार ०८:५८

असार १०, काठमाडौं ।

वर्तमान विश्व फूटबलका महान खेलाडी लियोनल मेस्सी ३१ वर्षका भए । उनको आज जन्मदिन हो ।

पाँच पटकका वर्ष खेलाडी मेस्सीले जारी विश्वकपमा अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् । उनकै नेतृत्वमा रहेको अर्जेन्टाइन टीम २ खेलसम्म जीतविहीन छ र समूह चरणबाटै बाहिरिने खतरामा पनि छ ।

यति हुँदाहुँदै पनि उनका अधिकांश समर्थक अन्तिम समयसम्म भए पनि उनको जादुयी प्रदर्शन हेर्न पाउने र अर्जेन्टिना नकआउट चरणमा पुग्ने आशामा छन् । अर्जेन्टिनाले समूहको आफ्नो अन्तिम खेल नाइजेरियासँग मंगलबार खेल्ने छ ।

यसरी समर्थकले आशा र भरोसा गर्नुका धेरै कारण छन् । पहिलो त उनले आफ्नो फूटबल करियरमा जमाएको प्रभाव र क्लब फूटबलमा प्राप्त गरेको उपलब्धि नै हो ।

मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोलाई वर्तमान विश्व फूटबलका सबैभन्दा प्रतिभाशाली र चर्चित स्टार मानिन्छ ।

विश्वकप र मेस्सीको जन्मदिनको अवसर पारेर हामीले उनकीबारे १० रोचक तथ्य तपाईंलाई जानकारी दिँदैछौं ।

१. चे ग्वेभाराको गाउँमा जन्म

मेस्सीको जन्म अर्जेन्टिनास्थित क्रान्तिनायक चे ग्वेभाराको गाउँ रोसोरियोमा भएको हो । बुवा जर्ज मेस्सी एक कारखानामा मजदूरी गर्दथे । जर्जका ४ छोराछोरीमध्ये मेस्सी तेस्रो सन्तान हुन् ।

२. बाल्यकालमै अचम्मको प्रतिभा

मेस्सीले ५ वर्षकै उमेरदेखि फूटबल खेल्न थाले । उनी स्थानीय क्लब ग्रान्डोलीमा अनुबन्धित पनि भए । ९ वर्षको हुँदा मेस्सी फूटबलमा यति निपूण भइसकेका थिए कि बल खुट्टामा परेपछि सधैं उनकै कब्जा रहन्थ्यो । उनको खेल हेर्नेहरू भन्थे – यो केटोले म्याराडोनालाई पनि पछि पार्छ । जबकि त्यतिबेला अर्जेन्टिनामा विश्वकप जिताउने म्याराडोनालाई भगवानसरह मानिन्थ्यो ।

३. ११ वर्षकै उमेरमा भयानक बिमारी

११ वर्षको उमेरमा मेस्सीमा ग्रोथ हर्मोनको कमी देखियो । यो यस्तो समस्या थियो कि त्यसको समयमै उपचार गर्न नसके उनको शारीरिक वृद्धि नै ठप्प हुन्थ्यो । मेस्सी दैनिक आफ्नो तिघ्रामा हर्मोनको इन्जेक्सन लगाउँथे । यो क्रम ३ वर्षसम्म जारी रह्यो ।

४. उपचारका लागि बार्सिलोनाको यात्रा

मेस्सीको उपचारका लागि मासिक डेढ हजार डलर खर्च लाग्थ्यो । बुवा जर्ज एक साधारण मजदूर भएकाले उनको उपचारमा निकै समस्या आयो । त्यति नै बेला जर्जका साथीले बार्सिलोना क्लबको बारेमा बताए । बार्सिलोनाले उपचार गरिदिने सुनेपछि उनी परिवारसहित स्पेन प्रस्थान गरे ।

बार्सिलोना मेस्सीको उपचार गर्न तयार भयो । उपचार भइसकेपछि मेस्सीका सामु दुई विकल्प थिए– अर्जेन्टिना फर्किने कि स्पेनमै रहने । मेस्सीले स्पेन नै बस्ने निर्णय लिए । ‘मेरा लागि यो क्लबले यति धेरै गर्‍यो, अब म क्लबमै रहन्छु र यसको गुन तिर्छु ।’ सोही कारण हो, कैयन आकर्षक अफरहरूलाई लत्याउँदै मेस्सी अझैसम्म बार्सिलोनामै छन् ।

५. ‘बार्सिलोना बी’बाट व्यावसायिक फूटबलमा

मेस्सीले बार्सिलोना बीबाट आफ्नो व्यावसायिक फूटबल यात्रा शुरु गरे । उनको उचाइ अन्य खेलाडीभन्दा कम थियो, जसका कारण उनले ड्रिबलिङ र कलात्मक खेल शैलीमा आफूलाई निपूण बनाउँदै लगे ।

६. पहिलो अनुबन्धन न्याप्किनमा

मेस्सीको पहिलो अनुबन्धन न्यापकिन पेपरमा लेखियो । एफसी बार्सिलोनाका चिफ चाल्र्स मेस्सीसँग यति धेरै प्रभावित भए कि अनुबन्धनका लागि प्रोफेसनल पेपर कुर्ने धैर्य पनि भएन । उनले आफ्नो अगाडि रहेको न्याप्किन पेपर झिके अनि त्यहीँ अनुबन्धनको बेहोरा लेखे । त्यसलाई पछि मात्र प्रोफेसनल कपीमा उतारियो ।

७. दुई देशको नागरिकता

मेस्सीसँग दुई देशको नागरिकता छ । अर्जेन्टिनाका नागरिक मेस्सीलाई स्पेनले पनि नागरिकता दिएको छ । २००५ मा स्पेनको नागरिकता पाएका मेस्सीसँग दुवै देशको पासपोर्ट पनि छ ।

८. स्पेनका लागि खेल्ने अफर अस्वीकार

बार्सिलोनामा रहेर आफ्नो प्रतिभा तिखारेका मेस्सीले स्पेनले आफ्नो देशका तर्फबाट खेल्न अफर गरेको थियो । तर उनले जन्मभूमि अर्जेन्टिनालाई नछाड्ने निर्णय गरे । सोही कारण मेस्सी अझै अर्जेन्टिनाका लागि खेलिरहेका छन् ।

९. दुई सन्तान भएपछि बाल्यकालकी प्रेमिकासँग विवाह

मेस्सीको विवाह एन्टोनेला रोकुजोसँग भएको छ । अर्जेन्टिनाकी पूर्वमोडल रोकुजो मेस्सीकी बाल्यकालकी प्रेमिका हुन् । उनीहरूले २ छोरा थियागो र माटियोको जन्म भइसकेपछि विवाह गरेका हुन् । विवाहपछि जन्मिएका कान्छा छोरा सिरो मेस्सी ३ महिनाका भए ।

१०. संन्यास अनि फिर्ता

पाँचपटक बालोन डो’र, ५ पटक युरोपीयन गोल्डेन बुटसहित क्लब फूटबलमा अधिकांश रेकर्ड तोडिसकेका मेस्सीका लागि देशका तर्फबाट ठूलो उपाधि नजित्नु सधैं खड्किने गरेको छ । मेस्सीले त्यसका लागि अधिकतम पहल पनि गरे । उनको टीम २०१४ को विश्वकप तथा २०१५ र २०१६ को कोपा अमेरिका फूटबल प्रतियोगिताको फाइनलमा पुगेर पराजित भयो । त्यसपछि मेस्सी यति दुःखी भए कि उनले अन्तर्राष्ट्रिय फूटबलबाट संन्यासको घोषणा गरे । उनको संन्यासबाट विश्वभरका फूटबलप्रेमी दुःखी भए । अर्जेन्टिनाका राष्ट्रपतिसमेतको आग्रह र करोडौं समर्थकको चाहनामा मेस्सी अन्तर्राष्ट्रिय फूटबलमा फर्किएका हुन् ।

११. नेपालमा समेत सहयोग

मेस्सी युनिसेफका गुडविल एम्बेस्डर हुन् । साथै उनको च्यारिटी फाउन्डेसन ‘लियो मेस्सी फाउन्डेसन’ पनि छ । मेस्सीको फाउन्डेसनले विश्वभरमा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएको छ । मेस्सीकै सहयोगमा नेपालका १४ जिल्लामा ७४ वटा स्वास्थ्यचौकी निर्माणधीन छन् ।

१२. खानाका शौखिन

मेस्सी खानाका शौखिन छन् । सी फूड उनका लागि सबैभन्दा फेभरेट भोजन हो ।