भीएआरको महत्व र क्रिष्टियानो रोनाल्डोको पेनाल्टी

१२ असार २०७५, मंगलवार ०८:२७

असार १२, काठमाडौं ।

विश्वकपमा समूह ‘बी’ मा अन्तिम खेल धेरै कुराले रोमाञ्चक रहृयो ।

मोरक्कोसँग हार्नै लागेको स्पेन, इरानअघि कमजोर देखिएको पोर्चुगल, अन्तिम समयको गोल, क्रिष्टियानो रोनाल्डोको पेनाल्टी र पहेँलो कार्डले दर्शक जुरुक्क उचालिए ।

खेलमा पोर्चुगलले इरानसँग सोमबार राति भएको खेलमा १-१ को बराबरीमा रोकियो । पोर्चुगलका लागि रिकार्डो करिज्माले पहिलो हाफको अन्तिममा गोल गरे । अघिल्ला दुई खेलमा चार गोल गरेर चम्किएका रोनाल्डो इरानविरुद्ध कमजोर बने । उनले पाएको पेनाल्टी पनि सदुपयोग गर्न सकेनन् ।

 

इरानका साइद एजातोलाहीसँगको ट्याकलको क्रममा रोनाल्डो लडेका थिए । रेफ्रीले सुरुमा त पेनाल्टी दिएनन् तर भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायतामा पोर्चुगललाई पेनाल्टी दिइयो । जसमा रोनाल्डो चुके । उनको प्रहार इरानको गोल रक्षक अलिरेवा बेरानभान्दले सुन्दर बचाउ गरे ।

 

रोनाल्डोले स्पेनसँगको पहिलो खेलमा पेनाल्टीमा गोल गरेका थिए । उनका प्रतिस्पर्धीका रुपमा हेरिने अर्जेन्टिनाका लियोनल मेस्सीले आइसल्याण्डसँगको पहिलो खेलमा पेनाल्टी मिस गरेपछि रोनाल्डो र मेस्सीको खुबीलाई लिएर निकै चर्चा भएका थिए । यसैले पनि पेनाल्टी मिस गरेका रोनाल्डो इरानविरुद्ध दबावमा देखिए ।

त्यही दबावकै कारण हुनुपर्छ रोनाल्डोले इरानका मोर्टेजा पौरालिगान्जीको मुखमा चलाखाइपूर्ण तरिकाले दौडिरहँदा हानिदिए । जसमा रेफ्रीको ध्यान पुगेको थिएन । फेरि पनि भीआएर रेफ्रीले कल गरे । म्याच रेफ्रीले रोनाल्डोलाई पहेँलो कार्ड देखाए ।

खेलमा फल भएर भीएआरमा गएपछि रातो कार्ड पाउने निश्चित भएर चिन्तित देखिएका रोनाल्डो पहेँलो कार्ड मात्रै पाएपछि मुस्कुराए ।

यस्तो बेला भीआएर कल भएपछि रातो कार्ड नै हुनुपर्ने र पहेँलो कार्डका लागि भीएआर नहुने फुटबल पण्डित बताउँछन् ।

फिफाले जारी गरेको भीएआर कस्तो समयमा हुने र कस्तो कस्तो निर्णय हुने भन्ने नियममा पनि पहेँलो कार्डबारे उल्लेख छैन । रातो कार्ड हुने समयमा भीएआर रेफ्रीले म्याच रेफ्रीलाई बताउन सक्ने उल्लेख छ ।

पोर्चुगल र इरानबीचको खेलमा भीएआर त्यतिमै सीमित भएन । भीएआरकै सहायताले खेलको इन्जुरी समयमा इरानले पेनाल्टी पायो र समूह ‘बी’ को क्रम नै भंग गरिदियो । समूह विजेता बनेर अघिल्लो चरण जाने पोर्चुगलको सपना सकियो ।

त्यसबेला इरानका सार्दर अजमुनले बल नियन्त्रण लिने प्रयास गरेका थिए । पोर्चुगलका डिफेन्डर सेडि्रक सोएरिसले उफ्रेर त्यो बललाई हेड गर्दै जोगाउने प्रयास गरेका थिए । त्यसक्रममा बल हृयाण्ड हुन पुग्यो । त्यसलाई रेफ्रीले वास्ता नगर्दा फेरि विषय भीएआरमै गयो र इरानलाई पेनाल्टी दिइयो । जसमा एनसारिफार्दले गोल गरे ।

रसिया विश्वकपका धेरै खेलमा भीएआरको प्रभावले नतिजामा फरक परेपनि समूह ‘बी’ को अन्तिम खेलमा त धेरै नै तलमाथि भयो । मोरक्कोसँग अन्तिम समयमा स्पेनले गरेको गोल पनि रेफ्रीले अफसाइड दिएका थिए तर भीएआरपछि गोल भएको पाइयो । जसले स्पेनलाई समूह विजेता बनायो ।