‘ब्रह्माण्डमा बुद्धिमान प्राणी’ कुन, एलियन छन् कि छैन्न ?

१३ असार २०७५, बुधबार ०६:४६

असार १३, काठमाडौं । – बीबीसी

मानिसले वर्षौंदेखि एलियनको खोजी गरिरहेको छ । वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंग पठाएर एलियन्ससँग सम्पर्क गर्ने कोशिस पनि गरिरहेका छन् । तर अझैसम्म एलियन्सबाट मानिसले पठाएको सन्देशको कुनै पनि जवाफ पाइएको छैन ।

एलियनले मानिसको सन्देशको जवाफ किन दिँदैन ? एलियन के हो ? यो छ कि छैन ? यी प्रश्न चर्चित भौतिक वैज्ञानिक एनरिको फर्मीले १९५० मा आफ्नो एक सहकर्मीलाई सोधेका थिए । फर्मी मान्दथे यस ब्रह्माण्डमा मानिस जस्तो कुनै अरु वुद्धिमान सभ्यता अलग-अलग ग्रहहरुमा छ ।

तर फेरि पनि एक प्रश्न उठ्दथ्यो- त्यसो हो भने उनीहरुसँग हाम्रो सम्पर्क किन हुन सकिरहेको छैन ? उनीहरु आखिर छन् कहाँ ?

यो प्रश्न निकै गम्भीर थियो । र यसै प्रश्नको कारण पैदा भएको विरोधाभासलाई ‘फर्मी प्याराडक्स’ भन्ने गरिन्छ ।

सर्च फर एक्स्ट्रा टेरिस्ट्रियल इन्टेलिजेन्स (सेटी) नामक संस्थाले धेरै वर्षदेखि यो प्रश्नको उत्तर खोजिरहेको थियो । विरोधाभासी फर्मी प्याराडक्सको अक्सफोर्ड विश्वविद्यालयका तीन एकाडेमीहरुले हालै फेरि पनि मूल्यांकन गरे । उनीहरुले यससँग जोडिएको एक अध्ययन गरे, जसलाई ‘डिजल्भिङ द फर्मी प्याराडक्स’ नाम दिइयो । अध्ययनको निष्कर्ष के छ भने यो ब्रह्माण्डमा मानिस मात्र जीवित बुद्धिमान प्राणी रहेको अत्यधिक सम्भावना छ । यसको मतलव हो एलियन्स छैन ।

  • कसरी निकालियो यो निष्कर्ष ?

यो अध्ययन गर्ने तीन विशेषज्ञहरुमध्ये एक जना एनडर्स स्यान्डबर्ग हुन् । उनी अक्सफोर्ड विश्वविद्यालयको फ्युचर अफ ह्युमिनिटी इन्सटिच्युटको रिसर्चर हुन् ।

दोस्रो वैज्ञानिक हुन् एरिक ड्रेक्सलर । उनको नानो टेक्नोलोजी निकै लोकप्रिय छ ।

उनीहरुसँगै दर्शनशास्त्रका प्रोफेसर टोड आर्ड पनि यो अध्ययनमा संलग्न थिए ।

उनीहरुले फर्मी प्याराडक्सको एक गणितीय आधारको विश्लेषण गरे, जसलाई ड्रेक समीकरण भनिन्छ । ड्रेक समीकरणको पहिलो प्रयोगमा जीवन हुनसक्ने सम्भावित स्थानको सूची तयार पारियो र यो अध्ययनमा जीवनसँग जोडिएका कयौं पक्षको जाँच गरियो । त्यसबाट ३९ प्रतिशतदेखि ८५ प्रतिशतसम्म सम्भावना यो ब्रह्माण्डमा मानिसमात्र एक्लो जीवित बुद्धिमान प्राणी रहेको सम्भावनाको निष्कर्ष निकालियो ।

  • एलियन छन् कि छैन्न ?

अध्ययनमा लेखिएको छ, ‘ब्रह्माण्डमा अरु कुनै बुद्धिमान सभ्यता नभएको पायौं । धेरै अनिश्चितताको आधारमा हामीले यो निष्कर्ष निकालेका छौं कि हामी एक्लै हुने सम्भावना अत्यधिक छ ।’

यद्यपि शोधकर्ताहरुले एलियन्स वा ब्रह्माण्डको अरु कुनै स्थानमा जीवन छ कि छैन भन्ने अध्ययन भने बैज्ञानिकहरुले जारी राख्नुपर्ने बताएका छन् ।

अध्ययनमा संलग्न सेन्डबर्ग भन्छन्, ‘एलियन्सको सम्भावना कम रहे पनि यदि भविष्यमा कतै कुनै समझदार एलियन सभ्यता पत्ता लाग्यो भने पनि हामी धेरै हैरान हुनु हुँदैन ।’

अर्थात् फर्नीको विरोधाभासको समाधान अझै सहज देखिएको छैन ।