नेपालीहरुलाई १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कास

४ असार २०७५, सोमबार ०५:३१

जेठ ४, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई लक्षित गर्दै १० प्रतिशत ब्याजदरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ ।

यो बैदेशिक रोजगार बचतपत्रको ब्याज प्रत्येक ६ महिनामा भुक्तान गर्ने राष्ट्र बैंकले जनाएको छ । साथै यो बचतपत्र ५ वर्षे हो । घटीमा पाँच हजार रुपैयाँ र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरीको रकम बचत गर्न सकिनेछ ।

२५ करोड रुपैयाँको यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ४ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आˆनो परिवारको सदस्यको नाममा खरिद गर्न सक्छन् ।

असार १ गतेदेखि खुला भएको यो बचतपत्र असार २१ गतेसम्म खरिद गर्न सकिनेछ ।

यस्तो बचतपत्रको ब्याज आफूलाई पायक पर्ने वाणिज्य बैंकहरु, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ ।

विगतमा निष्काशन भएका वैदेशिक रोजगार बचतपत्रमा बिदेशमा रहेका नेपालीको त्यती आकर्षण थिएन । नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार यसपाली भने राष्ट्र बैंकले यसबारेमा विभिन्न प्रचारप्रसारका कार्यक्रम गरेर मात्रै जारी गरेको बताउँछन् ।

‘विगतमा निष्काशन भएका वैदेशिक रोजगार बचतपत्रमा त्यती आकर्षण भेटिएको थिएन, यसपाली प्रचारप्रसार गरेर निकालिएको हुनाले बिक्री हुनेछ भन्ने हाम्रो अपेक्षा छ,’ उनले भने ।

के-के चाहिन्छ ?

यो बचतपत्र खरिद गर्नका लागि राहदानी, कार्यरत मुलुकको भिसा कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र को प्रतिलिपि र २ प्रति पासपोर्ट साइजको फोटो चाहिन्छ ।
साथै विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर पनि पेश गर्नुपर्छ ।

परिवारका सदस्यको नाममा खरिद गर्ने भए सदस्यको नागरिकताको प्रतिलिपी र नाता प्रमाणित कागजात चाहीन्छ । त्यसैगरी नावालकको नाममा संरक्षक भई खरिद गर्ने भएमा नावालकको जन्मदर्ता प्रमाणपत्र, प्रमाणित कागजात आवश्यक पर्छ ।