नायिका साम्राज्ञीले नायक आर्यनको फोन नउठाने

११ असार २०७५, सोमबार ०८:४२

असार ११, काठमाडौं ।

नायक आर्यन सिग्देललाई चलचित्र ‘कायरा’का लागि नायिका खोज्दै गर्दा साम्राज्ञी राज्यलक्ष्मी शाहको नाम दिमागमा आएको थियो । तर, साम्राज्ञीलाई अफर गर्ने कसरी भन्ने चिन्ताले उनलाई सधै नै सताएको थियो ।

किनकी, साम्राज्ञीले फोन उठाउँदिनन्, स्टारडम देखाउँछिन् भन्ने उनले पनि सुनेका थिए । यस्तै, सुनेका थिए चलचित्रका निर्देशक लक्ष्मण रिजालले पनि । लक्ष्मणको बारेमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि राम्रो सुनेकी थिइनन् ।

चलचित्र ‘कायरा’को ट्रेलर सार्वजनिक कार्यक्रममा साम्राज्ञीको घमण्डी बानीको बिषयमा कुरा उठ्यो । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले नायक आर्यन सिग्देल जस्तो काम गर्ने कलाकार अरु नभएको बताइन् ।

निर्देशक लक्ष्मण रिजालले आफू घमण्डी रहेको सुनेको र आफूले पनि लक्ष्मणले राम्रो चलचित्र बनाउँदैनन् भन्ने सुनेको बताउँदै साम्राज्ञीले चलचित्रमा काम गर्दा निकै रमाइलो भएको बताइन् ।

नायक आर्यन सिग्देलले साम्राज्ञीको अझै पनि फोन नउठाउने बानी आफ्ना लागि थ्रेट भएको बताए ।

आर्यनले भने-‘हो, अझै पनि साम्राज्ञीमा एउटा नराम्रो बानी छ । फोन नै उठाउँदिन, सम्पर्कमा नै आउँदैन । यो मेरा लागि थ्रेट नै हो । तर, जब साम्राज्ञी कामका लागि तयार हुन्छिन्, उनमा जस्तो मिहिनेत मैले अरुमा देखिनँ ।’