तोकियो भक्तपुर र ललितपुरमा पनि विरोध प्रदर्शन गर्न नपाइने स्थान

१४ असार २०७५, बिहीबार १०:१७

असार १४, काठमाडौं ।

सरकारले ललितपुर र भक्तपुरमा पनि विरोध प्रदर्शन गर्न पाइने स्थान तोकेको छ ।

तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन तथा सभा गर्न नपाइने गरी ललितपुरमा ५ ठाउँ र भक्तपुरमा एक ठाउँमात्रै तोकिएको हो ।

ललिपुरमा च्यासलको खेलमैदान, गोदावरी बसपार्क नजिकको खाली ठाउँ, भैंसेपाटीको छ्यासीकोटको खाली ठाउँ, बज्रबाराही, लुभुको ससमुचौर, धोविघाट नजिकैको मलपोखरीको खुला ठाउँलाई प्रदर्शन र सभास्थल तोकिएको छ ।

त्यसैगरी भक्तपुरमा प्रदर्शन र सभाका लागि सल्लाघारीको नेपाल ट्रष्टको खाली जग्गा तोकिएको छ । साउन १ देखि यो निर्णय कार्यान्वयन हुने र तोकिएको ठाउँबाहेक अन्य ठाउँमा प्रदर्शन र सभा गर्न नपाइने गृह मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

यसअघि काठमाडौं जिल्लामा यस्ता ७ ठाउँ तोकिएको थियो । काठमाडौंका प्रदर्शन र सभाका लागि खुलामञ्च, तीनकुनेको खाली जग्गा, स्वयम्भू, पेस्पीकोलाको खेलमैदान, लैनचौर खेलमैदान, गौशाला सिफलचौर तोकिएको छ ।

यसअघि प्रदर्शनस्थलको रुपमा परिचित माइतीघर मण्डलामा भने प्रदर्शन गर्न नपाइने भनी जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरेको थियो ।