जापानमा ३१ लाखमा बिके दुई खरबुजा किन ?

१८ जेष्ठ २०७५, शुक्रबार ०६:५३

जेठ १८, काठमाडौं । एजेन्सी

जापानमा दुई गेडा खरबुजाले दुनियाँकै महंगो फलको रुपमा आफूलाई प्रमाणित गरेका छन् ।

जापानमा हालै खरबुजाको लिलामी भएको छ । उक्त लिलामीका दौरान दुईवटा विशेष खरबुजा ३१ लाख भन्दा धेरै मूल्यमा बिकेका छन् ।

युबरी नामले चर्चित ती खरबुजा उत्तरी होक्काइडोको साप्पोरो सेन्ट्रल होलसेल मार्केटमा रहेको एक स्थानीय फलफूल प्याकिंग कम्पनीले यति महंगोमा खरीद गरेको हो ।

जापानमा खरबुजाको लिलामी बेलाबेलामा भैरहन्छ । तर विगतमा प्रिमियम खरबुजा बढीमा १५ हजार सम्ममा बिक्ने गरेको थियो ।

तर पछिल्ला युबरी खरबुजाको एक जोडी २९ हजार ३ सय डलर अर्थात् करीब ३१ लाख ६० हजार रुपैयाँ बराबरको मूल्यमा बिक्री भएका हुन् ।

स्मरण रहोस् जापानमा खरबुजालाई सम्मानसँग जोडेर हेरिन्छ । युबरी खरबुजालाई त्यहाँ मानिसको प्रतिष्ठाको प्रतिकको रुपमा लिइन्छ । मानिसहरु प्रियजन तथा साथीहरुलाई उपहार दिनका लागि पनि युवरी खरबुजाको प्रयोग गर्दछन् ।

खरबुजाको आकार र त्यसको सुन्दरताले अझै धेरै महत्व राख्दछ । यसकारण पूर्णरुपमा गोलो खरबुजा निकै धेरै मूल्यमा बिक्री हुन्छ । साथै खरबुजाको वजनले पनि मूल्यको हकमा महत्त्व राख्दछ ।