क्यानाडामा गाँजाको प्रयोग वैध

६ असार २०७५, बुधबार १०:०३

असार ६, काठमाडौं । बीबीसीबाट

क्यानाडाको संसद्ले देशभरि रमाइलाका लागि गाँजाको प्रयोगलाई वैध बनाएको छ ।

गाँजा ऐन मंगलवार सिनेटमा ५२–२९ मतले पारित भएको थियो । यो विधेयकले गाँजा कसरी हुर्काउने, वितरण गर्ने र बेच्ने भनी नियन्त्रण र नियमन गर्छ ।

यही सेप्टेम्बर महिनादेखि क्यानाडेलीहरूले गाँजा किन्न र उपभोग गर्न पाउनेछन् ।

गाँजालाई वैध ठह–याउने उरुग्वेपछि क्यानाडा दोस्रो मुलुक भएको छ । अमेरिकाका केही राज्यले पनि गाँजालाई वैध बनाएका छन् ।

गाँजा बोक्नुलाई सन् १९२३ मा क्यानाडामा अपराध घोषणा गरेको थियो तर यसको मेडिकल प्रयोग सन् २००१ देखि वैध गरिएको थियो ।

यो विधेयकलाई यही हप्ता शाही समर्थन प्राप्त हुने सम्भावना छ । त्यसपछि सरकारले कानून लागू हुने एक आधिकारिक मिति तोक्नेछ ।