कृषिमन्त्रीले कालिमाटीस्थित तरकारी बजारको अनुगमन गरे

२१ जेष्ठ २०७५, सोमबार ०४:५५

जेठ २१, काठमाडौं ।

कृषिमन्त्री चक्रपाणि खनालले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारको अनुगमन गरेका छन् । कालिमाटी तरकारी बजारमा कैयन विकृति रहेको गुनासोका बीच मन्त्री खनालले सोमबार अनुगमन गरेका हुन् ।

कृषिराज्यमन्त्री रामकुमारी चौधरी, मन्त्रालयका अधिकारी, सञ्चारकर्मीसहित सोमबार बिहानै कालिमाटी पुगेका मन्त्री खनालले ३ दर्जन पसलको अनुगमन गरे । अनुगमनका क्रममा मन्त्री खनालले स्टलको भाडा, तरकारीको भाउ सोधेका थिए ।

अनुगमनपछि मन्त्री खनालले बजार व्यवस्थित गर्ने बताएका छन् । त्यसकालागि कालिमाटी बजार व्यवस्थापन समितिको बोर्ड बैठक बसालेर आवश्यक निर्णय लिइने उनले बताए ।

मन्त्री खनालले कालीमाटी तरकारी बजारभित्र राखिएका माछा पसललाई बजारभित्रबाट हटाएर अन्यत्र स्थापना गर्ने खनालको भनाइ छ ।

अहिलेको कालिमाटी तरकारी बजारले काठमाडौंको ६० प्रतिशत मात्रै माग धान्ने गरेकाले थप बजारको व्यवस्था गर्नुपर्ने खाँचो उनले औंल्याए ।

हाल कालीमाटी तरकारी बजारभित्रका स्टलहरु १५ वर्षसम्म भाडामा दिने गरिएको छ । भाडामा दिँदा ८ देखि ११ हजार स्क्वायर फिटको दरले भाडा लिइन्छ । तर कालिमाटी तरकारी तथा फलफूल थोक बजार बिकास समितिबाट कुनै एक व्यापारीले सस्तोमा भाडामा लिएर अरु व्यापारीलाई महंगोमा बेच्ने गरेको पाइएको छ । अब त्यस्लाई तोड्ने मन्त्री खनालले बताए ।