‘कहिलेकाहीँ भर्चुअल संसारले मानिसहरुलाई अपराधी बनाइदिने रहेछ ।”: अर्जेन्टिना का प्रशिक्षक साम्पाओली

१३ असार २०७५, बुधबार ०५:१०

असार १३, काठमाडौं ।

विश्वकप समूह चरणका दुई खेलमा खराब प्रदर्शन गरेको अर्जेन्टिना टिमका प्रशिक्षक जर्ज साम्पाओलीले आफूलाई अपराधीजस्तो व्यवहार गरिएको बताएका छन् ।

नाइजेरियासँगको खेलअघिको पत्रकार सम्मेलनमा उनले आफूलाई गरिएको व्यवहारले अपराधि जस्तो महसुस भएको बताएका हुन् ।

मंगलबार राति पौने १२ बजे हुने नाइजेरियासँग खेलमा टिम लाइन उनले नै तय गर्ने पनि बताए । टिमको अभ्यासदेखि हरेक कुरामा साम्पाओली सामेल भइरहेका बेला उनलाई हटाइएको, सबै अधिकार खेलाडीलाई दिइएको जस्ता भ्रामक खबरहरु फैलिएका थिए ।

‘कहिलेकाहीँ भर्चुअल संसारले मानिसहरुलाई अपराधी बनाइदिने रहेछ । त्यसमा पनि खेल हारेका कारण र खेलाडी परिवर्तन गरेका कारण एउटा प्रशिक्षकलाई त्यस्तो व्यवहार गरिँदै छ’ साम्पाओलीले भने, ‘खेल हारिँदा समर्थकहरु चिन्तित हुनु र कमजोरीबारे बोल्नु त ठीकै हो ।

यो सबैतिर नै हुन्छ । मैले पनि टिमले कसरी राम्रो गर्छ भन्ने सोचेरै खेलाडीदेखि खेल शैली मिलाइरहेको छु ।’