इतिहासमा – समूहको १ खेलमा हार वा बराबरी खेल्ने टीम नै विश्वकप विजेता

६ असार २०७५, बुधबार ०७:५०

असार ६, काठमाडौं ।

फिफा विश्वकप फूटबल प्रतियोगिता रुसमा जारी छ ।

समूहमा पहिलो चरणको खेल जारी रहँदा उपाधिको दाबेदार मानिएका अधिकांश टीमले जीत दर्ता गर्न सकेका छैनन् । उपाधिका शीर्ष ४ दाबेदार ब्राजिल, जर्मनी, स्पेन र अर्जेन्टिनाले खेल जित्न सकेनन् । अझ साविकको विश्वविजेता जर्मनी त पराजित नै भयो ।

फ्रान्सले अस्ट्रेलियाविरुद्ध जीत दर्ता गरे पनि प्रदर्शन त्यति प्रभावशाली रहेन । यीनै ५ टोलीलाई यसपटक उपाधिको प्रबल दाबेदार मानिएको छ ।

पहिलो चरणको खेललाई हेरेर कतिपयले यसपटक नयाँ टीमले विश्वकप जित्ने अनुमान लगाउन थालेका छन् । तर त्यो कुरा अनुमान लगाउन जति सजिलो छैन ।

पछिल्लो ३ विश्वकप समूह चरणमा बराबरी वा पराजय भोगेका टीम ले नै जितेका छन् ।

सन २००६ मा इटालीले विश्वकप जितेको थियो । त्यतिबेला ‘समूह इ’मा रहेको इटालीले आफ्नो दोस्रो खेलमा अमेरिकासँग १-१ को बराबरी खेलेको थियो ।

सन २०१० को विश्वकप विजेता स्पेन हो । उसले समूहको पहिलो खेल नै हारेको थियो । त्यतिबेला उसलाई स्वीट्जरल्याण्डले १-० ले पराजित गरेको थियो ।

साविकको विश्वविजेता जर्मनीले पनि समूहमा शत प्रतिशत अंक हासिल गर्न सकेको थिएन । समूहमा उसलाई घानाले २-२ को बराबरीमा रोकेको थियो ।