आठ कक्षा पास गरेको तर विश्वविद्यालयबाट ‘डाक्टरेट’को उपाधि

२३ जेष्ठ २०७५, बुधबार ०५:४९

जेठ २३, काठमाडौं । एजेन्सी

भारतमा एक व्यक्तिले मनी ट्रेड कोइन नामक किर्ते करेन्सीमा लगानी गर्ने बहानामा २५ सयजनासँग ८०० करोड रुपैयाँ ठगेको घटना सार्वजनिक भएको छ ।

ठगी गर्ने कम्पनीको पर्दाफाश मुम्बईको ठाणे प्रहरीको अपराध शाखाले गरेको छ । ठगीका लागि फ्लिस्टोन कम्पनीले कुल १०५ करोड सिक्का तयार पारेको थियो । शुरूमा तीन तीन डलर मूल्यका सिक्काहरू ६ ६ हजार डलरमा बिके ।

यिनमा दुई करोड सिक्का बजारमा ल्याइएको थियो । कम्पनीको मास्टरमाइन्डले जम्मा आठ कक्षा पास गरेको छ तर उसले अकल्यान्ड विश्वविद्यालयबाट डाक्टरेटको उपाधि लिएको छ ।

प्रहरीले कम्पनीका लागि प्राविधिक जानकारी उपलब्ध गराउने र सफ्टवेयर बनाउने तहा हाफिज काजीलाई पक्राउ गरेको छ ।

कम्पनीका प्रमुख अमित लखन पालसहित चार व्यक्तिको खोजी गरिरहेको छ । विभिन्न कार्यालयमा छापा मार्दा ५३ वटा ल्यापटप, किर्ते कागजपत्र, सरकारी तथा गैरसरकारी संस्थाका छाप, मोबाइल फोन लगायतका सामान ब।ामद भएका छन् ।

प्रहरीका अनुसार, अमित भागेर दुबई पुगेको छ । कम्पनीले दुबईमा पनि कार्यालय खोलेको छ । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

अमित आफ्नो कार्यालयमा फोर्ब्स म्यागजिन सहित अन्य पत्रिकामा आफ्नो अन्तर्वार्ता र राजनीति, फिल्म र उद्योग जगतका हस्तीसँग खिचेको फोटो देखाएर मानिसलाई ठग्ने गर्थ्यो । उसले यूएईको शाही परिवारका सदस्यसँग पनि फोटो
खिचेर राखेको रहेछ ।

अनि उसले किर्ते सरकारी भिजिटिङ कार्ड पनि छपाएको थियो । कम्पनीसँग जोडिएका मानिसले आफूलाई भारतको अर्थ मन्त्रालयको अधिकृत प्रतिनिधि बताउने गर्थे ।