अभिनेत्री दीपिकाको वास्तविकता चर्को डिमान्डका कारण खाली हात

३१ जेष्ठ २०७५, बिहीबार १०:३१

जेठ ३१, काठमाडौं ।

फिल्म ‘पद्मावत’ को सफलतापछि बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै फिल्म साइन नगरी बसेकी छन् । न अहिले न हलिउडमा व्यस्त छिन् न बलिउडमा ।

दीपिकाले रणवीर सिंहसँग यसै वर्ष विहे गर्न लागेकाले डेट खाली राखेको चर्चा नभएको होइन, तर वास्तविकता अर्कै छ । खासमा उनले यति चर्को डिमान्ड गर्न थालेकी छन् कि कुनै निर्माताले पनि उनलाई लिने आँट गरिरहेका छैनन् । उनी नायकले भन्दा एक रुपैयाँ पनि कम लिन तयार छैनन् ।

बलिउडमा ए ग्रेडका नायक र नायिकाको पारिश्रमिकमा ५ देखि ६ गुणसम्म अन्तर छ । दीपिका-कंगना जस्ता नायिकाहरुले १०-१२ करोड लिइरहँदा शाहरुख-सलमानको रेट ५०-६० करोड छ । यसका साथै उनीहरुले फिल्मको मुनाफामा सेयर पनि लिन्छन् ।

अहिले दीपिका आफूकहाँ अफर लिएर आउने निर्मातालाई स्क्रिप्ट हेर्नुभन्दा पहिल्यै पारिश्रमिकको कुरा गर्छिन् । उनको डिमान्ड सुनेर निर्माताहरु हैरान हुन्छन् । श्रोतका अनुसार उनी २५ करोडभन्दा तलको कुरै गर्दिनन् । एउटा नायिकालाई २५ करोड दिएर खेलाउन कुनै निर्माता तयार हुँदैनन् ।

खासमा निर्देशक सञ्जय लिला भन्सालीले दीपिकाको बानी बिगारेका हुन् । उनले पद्मावतमा हिरोहरुको भन्दा बढि पारिश्रमिक दीपिकालाई दिएका थिए । उनले सो फिल्ममा ११ करोड लिएकी थिइन् । जबकि रणवीर सिंहले ८ करोड र शाहिद कपुरले ४ करोड रुपैयाँ पाएका थिए ।

पारिश्रमिक मात्र होइन, दीपिकाले फिल्मको स्त्रिप्टसमेत आफ्नो रुचीअनुसार तोडमोड गराउने प्रयास गर्छिन् । यसैगरी अन्य कलाकार छनोटमा पनि हस्तक्षेप गर्न खोज्छिन् । त्यही भएर उनी अहिले खाली हात भएकी हुन् ।