अध्यक्ष प्रचण्ड र ओली हिँड्दा तीन नेताले पाए कार्यवाहकको जिम्मेवारी

५ असार २०७५, मंगलवार ०४:४६

असार ५, काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले चीन भ्रमणमा निस्कनुअघि तीन नेतालाई फरक-फरक मोर्चाको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन् । अर्का अध्यक्ष प्रचण्ड पनि सिंगापुरमा रहेकाले ओली हिँड्दा तीन नेताले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

नेकपाका महासचिव विष्णु पौडेलका अनुसार नेकपाको कार्यवाहक अध्यक्ष बरिष्ठ नेता माधवकुमार नेपाल बनेका छन् । अर्का अध्यक्ष प्रचण्ड पनि नभएकाले पार्टीमा ओली र प्रचण्डपछि तेस्रो बरियतामा रहेका बरिष्ठ नेता नेपाललाई कार्यवाहक अध्यक्ष बनाइएको हो । प्रचण्ड पत्नी सीता दाहालको उपचारका सिलसिलामा सिंगापुरमा छन् ।

 

२०६४ सालको निर्वाचनमा पार्टीको पराजयपछि महासचिव पदबाट राजिनामा दिएका नेपालले त्यसपछि पार्टी प्रमुखको जिम्मेवारी सम्हालेको यो पहिलो हो । उनी १४ वर्ष नेकपा एमालेको नेतृत्व गरेपछि बरिष्ठ नेताको हैसियतमा थिए । यसबीचमा झलनाथ खनाल र केपी ओली अध्यक्ष भएका बेला कार्यवाहक जिम्मेवारी बामदेव गौतम र अशोक राईले पाउने गरेका थिए ।

 

ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् । मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको दोस्रो बरियतामा रहेका उपप्रधानमन्त्री पोखरेल यसअघि ओली भारत भ्रमणमा जाँदा पनि कार्यवाहक प्रधानमन्त्री थिए ।

 

महासचिव पौडेलका अनुसार नेकपा संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवास नेम्वाङलाई दिइएको छ । संयोग नै मान्नुपर्छ ओली हिँड्दा कार्यवाहक पाउने तीनैजना नेता तत्कालिन एमालेका परेका छन् ।

कार्यवाहक अध्यक्ष नेपालले दुवै अध्यक्ष नभएको बेला पार्टी सन्चालनको नेतृत्व गर्नेछन् भने कार्यवाहक प्रधानमन्त्रीले प्रधानमन्त्रीको अनुपस्थितमा सरकार सन्चालन गर्नेछन् । संसदीय दलका कार्यवाहक नेता नेम्वाङले संसदीय फाँटका गतिबिधिको नेतृत्व गर्नेछन् ।