शहीद परिवारलाई रोजगारी

१६ जेष्ठ २०७५, बुधबार १२:३४

जेठ १६, काठमााडौं ।

प्रदेश २ को सरकारले शहीद परिवारलाई रोजगारी दिएको छ ।

मुख्यमन्त्री लालबावु राउतले बुधबार शहीद रामविवेक यादवकी पत्नी अनिलाकुमारी यादवलाई मुख्य न्यायाधीवक्ताको कार्यालयमा नियुक्ति दिएका हुन् ।

मुख्यमन्त्री राउतले महोत्तरीको महोत्तरी गाउँपालिका २ बस्ने अनिलाकुमारी यादवलाई कार्यालय सहयोगी पदमा करारमा नियुक्ति दिएका हुन् ।

अनिलाले प्रविणता प्रमाण पत्र तह अध्ययन गरेकी छिन् । शहीद यादवको घरमा पत्नी, एक छोरा, आमा, बुवा रहेका छन् । प्रदेश सरकारको पहिलो बसेको मन्त्रीपरिषदको बैठकले शहीद परिवारको सदस्यलाई योग्यताको आधारमा रोजगारी दिने निर्णय गरेको थियो ।

आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा मधेसी मोर्चा लगायतकाले गरेको चलुु जलेश्वर, भरु जलेश्वर आन्दोलनको क्रममा २०७३ भदौं २३ गते प्रहरीले चलाएको गोली लागि रामविवेक यादवको घटनास्थलमै मृत्यू भएको थियो ।

पीडित परिवारले उच्च अदालत जनकपुरमा जिल्ला प्रहरी कार्यालय महोत्तरीलगायतको विरुद्धमा मुद्दा दायर गरेका थिए । अदालतको आदेश प्रहरी कार्यालयले नमानेपछि दिएको अवहेलना मुद्दामा भने अदालतले प्रहरी कार्यालय महोत्तरी र सरकारी वकिलको कार्यालय महोत्तरी मिसिल झिकाउन आदेश दिएको छ ।