बालकृष्ण ढुंगेल रिहा

१५ जेष्ठ २०७५, मंगलवार १०:५३

जेठ १५, काठमाडौं ।

द्वन्द्वकालीन मुद्दामा जेल परेका बालकृष्ण ढुंगेल रिहा भएका छन् । ढुंगेल मंगलबार बिहान डिल्लीबजार कारागारबाट छुटेका हुन् ।

गणतन्त्रको अवसरमा सरकारले ढुंगेलसँगै अन्य ८१६ कैदी–बन्दीको कैद मिनाह गर्न सिफारिस गरेको थियो । राष्ट्रपतिले सरकारको सिफारिस अनुमोदन गरेसँगै ढुंगेल रिहा भएका हुन् ।

ढुंगेललाई स्वागत गर्न मंगलबार बिहानै नेकपाकी केन्द्रीय सदस्य देवी खड्का, विद्यार्थी, युवा संगठनका नेताहरु डिल्लीबजार कारागार पुगेका थिए । समर्थकले उनलाई माला लगाएर स्वागत गरे भने ढुंगेलले केहीबेर सम्बोधन गरेका थिए ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेल द्वन्द्वकालमै ७ वर्ष जेल परेका थिए । शान्ति प्रक्रियापछि सर्वोच्च अदालतले ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो । तर ढुंगेल अदालतको फैसलासँगै फरार थिए । चौतर्फी आलोचनाका बीच उनी गत कात्तिक १४ गते ललितपुरबाट पक्राउ परे । जेल परेको झण्डै ६ महिनापछि उनलाई माफी मिलेको छ र जेलबाट छुटेका छन् ।

ढुंगेललाई माफी नदिन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ जारी छ । अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो ।

ढुंगेलसँगै अन्य ८१६ कैदीले समेत माफी पाएका छन् ।

प्रक्रिया पूरा गरेका कैदीलाई गणतन्त्र दिवसका अवसरमा छाड्ने प्रचलन छ ।