प्रदेश १ मा स्टिकर टाँस्ने अभियान सुरु, आधा घण्टाभित्र घटनास्थल पुगिसक्ने व्यवस्था

१४ जेष्ठ २०७५, सोमबार ०७:५४

जेठ १४, काठमाडौं ।

प्रदेश १ सरकारले जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत प्रदेशका १४ जिल्लामा स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।

 

प्रदेश सरकारले एक महिनाभित्र १४ वटै जिल्लाको १० हजार नागरिकको घरमा स्टिकर टाँस्ने बताएको छ । त्यसका लागि करिब ५० लाख रुपैयाँको लागतमा स्टिकर तयार पारिएको छ ।

सरकार गठन भएको १९ दिनमा सय दिनभित्र गरिने कार्यक्रममा प्रदेश सरकारले जनतासँग प्रहरी कार्यक्रम अन्तर्गत स्टिकर टाँस्ने अभियान समावेश गरेको थियो ।

स्थानीय आर्दश उच्च माविको खेल मैदानमा सोमबार अभियानको शुरुवात मुख्य मन्त्री शेरधन राईले विद्यालयको हाताको भवनमा स्टिकर टाँसेर शुभारम्भ गरेका थिए ।

स्टिकरमा प्रदेश प्रहरी कार्यालय विराटनरको टोल फ्रि नम्बर, संघीय प्रहरी कार्यालयको टेलिफोन नम्बर र सम्बन्धित जिल्ला प्रहरी कार्यालयको नम्बर राखिएको छ ।

मुख्य मन्त्री राईले प्रदेश १ लाई सबैखाले अपराधबाट मुक्त राख्नका लागि जनतासंग प्रहरी कार्याक्रम अन्तर्गत घरघरमा स्टिकर टाँसिएको बताए ।

मुख्य मन्त्री राईले प्रदेश सरकार अपराध नियन्त्रण गर्न जुनुसुकै कदम चाल्न पनि पछि नहट्ने बताए ।

प्रदेश सरकारले प्रहरीलाई जनताबाट कुनै घटना भएको सूचना प्राप्त भएपछि पहाडमा एक घण्टा र तराईमा आधा घण्टाभित्र घटनास्थल पुगिसक्ने व्यवस्था मिलाउने बताएको थियो ।