नेपाल कम्युनिस्ट पार्टीका ६ जना कार्यकर्ता पक्राउ

२४ बैशाख २०७५, सोमबार ११:२९

वैशाख २४, काठमाडौं ।

इलाम र महोत्तरीबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ६ जना कार्यकर्ता पक्राउ परेका छन् ।

इलामबाट ४ जना र महोत्तरीबाट २ जना पक्राउ परेका हुन् । इलाममा पक्राउ पर्नेमा इलाम नगरपालिका-३ जौबारीका २५ वर्षीय काजीमान सुनुवार, ३७ वषर्ीय चन्द्र थापा, ३२ वर्षीय समीर भन्ने सञ्जीवकुमार राई र सूर्योदय नगरपालिका-१२ का ३४ वषर्ीय, लाक्पा शेर्पा रहेका छन् ।

इलामस्थित मेची राजमार्गको सानवीरेमा झापाबाट पाँचथर तर्फ गइरहेको को १ ज ८७१५ नम्बरको जीप शनिबार बिहान आगजनी गरेको घटनामा संलग्न रहेको आशंकामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यता महोत्तरीमा पक्राउ पर्नेमा जनकपुर ब्यूरो इन्चार्ज रोहित ढकाल र महोत्तरी जिल्ला सेक्रेटरी पवनकुमार महतो रहेका महोत्तरीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए ।

बर्दिवास नगरपालिका क्षेत्रबाट पक्राउ परेका दुवैले जिल्लामा केही दिन यता शंकास्पद गतिविधि गरिरहेकोले उनीहरुलाई पक्राउ गरिएको डीएसपी पौडेलले बताए ।

केही दिनयता प्रहरी निगरानीमा रहेको दुवैजनाको गतिविधि शङ्कास्पद भएकोले पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको उनले बताए ।