नेकपा एमाले र माओवादी केन्द्रबीच बैठक बस्दै

१९ बैशाख २०७५, बुधबार ०५:४६

वैशाख १९, काठमाडौं ।

नेकपा एमाले र माओवादी केन्द्रले दुई दलको एकताबारे आज आन्तरिक छलफलको विषयमा वैठक बस्दैछन् ।

माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्दैछ ।

माओवादी प्रवक्ता पम्फा भुसालको अनुसार आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा भइरहेको प्रगतिबारे ब्रिफिङ गर्ने ले बताइन् ।

उनले भनिन्, ‘एकतामा भइरहेको प्रगति र एकता कसरी गर्ने भन्नेबारे अध्यक्षज्यूले ब्रिफिङ गर्नुहुन्छ, ‘अरु समसामयिक राजनीतिक विषयमा पनि छलफल हुन्छ ।’

यसअघि मंगलबार एक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष दाहालले १/२दिनमै पार्टी एकताको घोषणा गर्ने तयारीमा आफूहरू रहेको बताएका थिए ।

त्यसैगरी नेकपा एमालेले पनि आजै साँझ स्थायी समिति बैठक आह्वान गरेको छ ।

आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने नेता सुरेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘बैठकको सूचना आएको छ, एजेन्डाबारे केही भनिएको छैन ।’