नव गठित कम्युनिष्ट पार्टीसँग पार्टी एकताको कुरा त धेरै टाढाको विषय हो, कार्यगत एकता पनि गर्दैनौ ः नेता सि.पी गजुरेल

१० जेष्ठ २०७५, बिहीबार १०:१३

जेठ १०, काठमाडौं ।

वर्तमान सरकारले विकास समृद्धि र सुशासन दिन नसक्ने नेकपा क्रन्तिकारी माओवादीका नेता सि.पी गजुरेलले बताएका छन् । आयो टिभिका लागि राम गैरेले लिएकोे विशेष संवादमा बोल्दै गजुरेलले भने वर्तमान सरकारबाट जनताले विकास समृद्धि र सुशासनको आश गर्नु बेकारको कुरा हो । उनले एमाले र माओवादीबीचको पार्टी एकतालाई कांग्रेस पार्टीसँग तुलना गर्दैै नव गठित कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसमा नीति, सिद्धान्त र विचारमा कुनै फरक नभएको बताए । ‘वास्तवमा यो पार्टी कम्युनिष्ट नै रहेन । कम्युनिष्टको नौटंकि गरेर जनतालाई भ्रममा पार्ने काम यो पार्टीले गरेको छ ।’

नव गठित नेकपाले सम्मानजनक र उचित स्थान दिए तपाईहरु पनि त एकता गर्नुहून्छ होला नि ? भन्ने प्रश्नको जावाफ दिँदै गजुरेलले भने, ‘मैले सुरुमै भनिसके नि नीति सिद्धान्त विचार नमिलेपछि कसरी एकता गर्ने ? उनीहरुसँग पार्टी एकताको विषय त धेरै टाढाको कुरा हो, उनीहरुसँग हामीहरुले कार्यगत एकता पनि गर्दैनौ । सबै प्रष्ट हुँदा हुन्छ ।’

पुष्पकमल दाहालले जनयुद्धको मूल्य, मान्यता र मर्मलाई बिर्सिएर पार्टीलाई एमालेमा बिलय गराएको आरोप लगाउँदै गजुरेलले भने जनयुद्धमा त्याग, तपस्या र बलिदान दिएका शहिद, बेपता नागरिकका आफन्त, घाइते अपाङ्ग जनयुद्धमा लक्ष्य प्राप्तिका लागि लडेका योद्धाहरुलाई धोका दिएर प्रचण्डले पार्टीलाई एमालेमा बुझाएका छन् ।

जनयुद्धमा उठाएका एजेन्डालाई छाडेर प्रचण्ड र बाबुराम क्रन्तिदेखि बाहिर गएका छन् । अब उनीहरुबाट क्रन्तिको आश गर्नु उचित नहुने पनि बताए । क्रान्तिको बाँकि अभिभारा पुरा गर्न अब हामी यी एजेन्डा उठाएर आन्दोलनमा जाने तयारीमा छौँ, आन्दोलन शान्तिपूर्ण पनि हुन सक्छ, यदि शान्तिपूर्ण ढङ्गले हामीले उठाएका एजेन्डाको सम्बोधन सरकारले गर्दैन र दमनको नीति लिएमा हिंसात्मक र हतियारको युद्ध पनि हुन सक्छ । सुरु सुरुमा माओवादी केन्द्रले त माओवाद माने जस्तो नौटंकि पनि गरेको थियो । त्यसबेला पार्टी एकता नगरेका उनले अब भने कार्यगत एकता पनि नगर्नै प्रष्ट पारे ।

प्रचण्ड र के.पी आलीले राष्ट्रवादको नारा, हामी वामपन्थी मिलेका छौँ स्थिर सरकार बनाउन चाहेका छौँ विकास र समृद्धि हाम्रा चुनावी एजेन्डा हुन भनेर जनतालााई भ्रममा पारी कम्युनिष्टको नाममा बहूुमत ल्याएका हुन् । अब जनताले सबै कुरा बुझदै जाने छन् । यो लमपसारवादी सरकार हो यसले देशको विकास र समृद्धि गर्न सक्दैन् , गजुरेलले बताए , ‘प्रचण्डले माओवादी केन्द्रलाई एमालेमा विलय गराएपछि एउटा कुरा हाम्रो पार्टीलाई फाइदा पुगेको छ । किनभने जनयुद्धमा लडेका नेता कार्यकर्ताहरुको ठूलो पङक्ति अब हाम्रो पार्टी नेकपा क्रन्तिकारी माओवादीमा आउने निश्तिच भएको छ र यसले क्रान्तिलाई थप बल पुरयाउने छ ।’

संघियताको विषयमा बोल्दै गजुरेलले भने यो संघियताले जनतालाई धेरै दुःख दिएको छ । ‘हामीले खोजेको संघियता जनतालाई दुःख दिने होइन सुख दिने खोजेका हौँ तर अहिले त्यसतो देखिँदैन ।’

गजुरेलले भने संघियता फेल गराउने षडयन्त्रमा ठूला दल लागेको कता कता आभास भएको छ । यो संघियताले जनताका सरल कार्यलाई पनि झनझटिलो बनाउँदै राज्य ढुकुटी सिध्याउने काम मात्र गरेको आरोप लागाए । सेवा सुविधामा जनता पहिलाको व्यवस्थामा भन्दा अहिले वञ्चित बन्दै गएको समेत बताए । यो वर्तमान कम्युनिष्टको नाम लिएर बनेको सरकारले जनतालाई सेवासुविधा दिने भन्दा पनि दुःख दिने काम गरेको उनले उल्लेख गरे ।

नेपालको राजनीतिक इतिहाँसमा यो इतिहाँसकै ठूलो कम्युनिष्ट पार्टी भनिदै आएको छ नि ? भन्ने प्रश्नको जवाफ दिँदै नेता गजुरेलले भने, ‘यो पार्टी मोटाएर ठूलो बनेको होइन यो सुन्निएर ठूलो बनेको पार्टी हो । यो पार्टीबाट जनताले ठूलो अपेक्षा राख्नु भ्रम मात्र हो ।’