देशको आर्थिक विकासका लागि सम्पूर्ण शक्ति लगाएका छौं : दाहाल

२६ बैशाख २०७५, बुधबार ०६:४६

वैशाख २६, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् ।

आज बिहान आफ्नै निवास खुमलटारमा चिनियाँ कम्युनिस्ट पार्टी बेइजिङका उपाध्यक्ष लिजी याङको नेतृत्वको टोलीसँग भेटवार्ता गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।

उनले भने,‘‘हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि सम्पर्क सञ्जालको विस्तार नै मुख्य कार्यसूची रहेको छ । त्यसमा सडक सञ्जालको विस्तार, रेलमार्गको विस्तार र सम्पर्क सञ्जालको विस्तारबाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’’

पर्यटन क्षेत्रको विकासका लागि चिनियाँ जनता र सरकारको चासोबारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।