‘दशककी नायिका र नायक’ को अवार्ड रेखा र आर्यनले पाउँदा उठ्यो प्रश्न

१६ जेष्ठ २०७५, बुधबार १०:५९

जेठ १६, काठमााडौं ।

नेपालमा आयोजना हुने अवार्ड समारोहमा अहिले एउटा टाइटल खुबै चल्तिमा छ । त्यो हो, ‘दशकका हिरो’ र ‘दशककी हिरोइन’ । १० बर्षयता चलचित्र क्षेत्रमा राज गर्न सफल हिरो र हिरोइनलाई यो अवार्ड दिइने गरिन्छ ।

केही बर्षयता चलन चल्तीमा आएको यो विधा विवादस्पद हुन थालेको छ । कारण, दशकका नायक र नायिकाको मुल्यांकन कसरी गर्ने भन्ने कुरामा आयोजकहरु नै स्पष्ट छैनन् ।

२ बर्ष अगाडि आयोजना गरिएको एक अवार्डमा पपलुर अवार्डको रुपमा नायक अनमोल केसी र नायिका रेखा थापालाई अवार्ड दिइएको थियो । जबकी, यो कुनै तरिकाले सुहाउने कुरा थिएन ।

यस्तै, केही समय अगाडि दशककी नायिका भनेर करिश्मा मानन्धरलाई अवार्ड दिइएको दिइयो । जबकी, करिश्माको चर्चा सेलाएको धेरै भैसकेको थियो ।

गत बिहिबार राष्ट्रिय सभा गृहमा आयोजना भएको ‘दशौ डी सिने अवार्ड’मा विभिन्न विधामा अवार्ड बाँडियो । यही अवार्डको आयोजकले त्यसको भोलीपल्ट काठमाडौको एक पार्टी प्यालेसमा ‘दशकका उत्कृष्ट’ भन्दै विभिन्न कलाकर्मीलाई अवार्ड बाड्यो ।

नायक आर्यन सिग्देललाई ‘दशकका अभिनेता’ भनेर अवार्ड दिदै गर्दा नायिका रेखा थापालाई ‘दशककी अभिनेत्री’ को अवार्ड दिइएको थियो ।

आर्यन सिग्देललाई चलचित्र ‘लुट’ रिलिज भएपछि दयाहाङ राई, सौगात मल्लले उछिनेका थिए । यसपछि, आर्यनको क्रेज सकिदै गयो भने दया र सौगात उँभो लाग्दै गए । लुट रिलिज भएको पनि ५ बर्ष भैसक्यो । आर्यनको पछिल्लो ५ बर्षयताको अवस्था खराब छ । यसैले, उनी दशकको अभिनेता कसरी भए भन्ने बहस यतिबेला भैरहेको छ ।

नायिकाको हकमा पनि यस्तै छ । निर्माता छविराज ओझासँग अलग भएपछि रेखा थापाले आफ्नै चलचित्रमा अभिनय गरेकी त छिन् तर उनको सफलताको दर न्यून छ । रेखा थापाको स्टारडम खस्किएको केही बर्ष हुन थाल्यो ।

बरु यो विचमा चलचित्र क्षेत्रमा सर्वाधिक खोजिएका र चर्चित नायिकामा प्रियंका कार्की पर्छिन् ।