कर्मचारी र जनप्रतिनिधिका छोराछोरी पनि सरकारी विद्यालयमा पढ्ने

२६ बैशाख २०७५, बुधबार ०९:२५

वैशाख २६, काठमाडौं ।

नलगाड नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीका छोराछोरी निजी विद्यालयमा पढ्न नपाउने भएका बताइएको छ ।

नगरको बैठकले निजी विद्यालयमा नभएर सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको बताइएको छ । नगरप्रमुख टेकबहादुर रावलका अनुसार अब यहाँका सबै कर्मचारी तथा शिक्षकका छोराछोरी सरकारी विद्यालयमा भर्ना भएर पढ्ने जानकारी दिएको बताइएको छ ।

नलगाड नगरपालिकाका अधिकांश शिक्षक र कर्मचारीका छोराछोरी महँगा निजी विद्यालयमा भर्ना गरी पढिरहेका बताइएको छ । नगरपालिकाले सबै विद्यालयमा पत्राचार गरी छिटो भर्ना गर्न अनुरोध गरेको पाइएको छ । हुनेखानेले निजी र गरीबले मात्र सरकारीमा पनि धौधौ गरी पढाउने समस्यालाई हल गर्न यस्तो नीति अवलम्बन गरिएको बताइएको छ ।

रावलले शिक्षामा भएको असमानतालाई न्यूनीकरण गर्न यो निर्णयलाई कडाइका साथ कार्यान्वयन गरिने बताए । शिक्षकले सरकारी विद्यालयमा पढाउने, तर सरकारीबाट कमाएको रकमबाट आफ्ना छोराछोरी निजीमा पढाउने कार्यले सरकारी विद्यालयप्रति विश्वास घटेको उनको भनाइ छ ।

अधिकांश शिक्षकका छोराछोरी निजीमा पढाउने तर परीक्षा सरकारी विद्यालयमा ल्याएर गराउँदा सरकारी विद्यालयमा पढ्ने बालबालिकाको मनोबल कमजोर हुने भएकाले यसको अन्त्य गरिने रावलको भनाइ छ ।